अत्तरिया – देशमा सशस्त्र द्धन्द्ध चर्किरहँदा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१०( तत्कालिन गोदावरी गाविस वडा नम्बर ३) का बासिन्दा भोज जैगडी नेकपा एमालेको राजनितिमा सक्रिय थिए । जैगडी २०५५ सालमा वडा नम्बर ३ कमिटि अध्यक्ष थिए ।
२०६१ सालमा गाउँ कमिटि सदस्य बनेका जैगडी २०६३ सालमा पाचौँ जिल्ला अधिवेशनमा अधिवेशन प्रतिनिधि बने । त्यस्तै २०६४ सालमा क्षेत्रिय कमिटि सदस्य बने । २०६२ सालमा वडा नम्बर १० कै जानकी प्राविमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका जैगडीले विद्यालयलाई निमाविसम्म सञ्चालनका लागि आवश्यक पहल गरे ।
२०६२ मै उक्त विद्यालय निमाविसम्म सञ्चालन भयो । २०६६ सालसम्म अध्यक्ष पदमा रहेका उनले सामुदायिक वनसंग समन्वय गरि विद्यालयकालागि आवश्यक जमिनको व्यवस्थापन पनि गरे ।
हाल उक्त विद्यालय माविसम्म सञ्चालनमा छ । त्यसपछिका करिब १० वर्ष वैदेशिक रोजगारमा रहेका जैगडी २०७८ सालदेखि पुनः राजनितिमा सक्रिय भए । २०७८ सालमा भएका जिल्ला अधिवेशनमा अधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका उनी ८ मतले पराजित हुन पुगे । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा दावी गरेकोमा पछि पार्टीको आधिकारीक उम्मेदवारलाई नै सर्मथन गरेका थिए ।
२६ वर्षको राजनितिक अनुभव संगालेका जैगडीलाई माघ २१ गते (हिजो)को जिल्ला कमिटि वैठकले सदस्य पदमा मनोनित गरेको छ । मनोनितपछि हिजो नै उनले शपथ ग्रहण समेत गरिसकेका छन् । लामो समयदेखि पार्टीको कुनै पनि पदमा नरहेका बेला जिल्ला सदस्यमा मनोनित गरेर जिल्ला नेतृत्वले आफुमाथि न्याय गरेको जैगडीले महसुस गरेका छन् ।
आगामि दिनमा पनि विगतजस्तै पार्टीको संरचना बलियो बनाउन आफु लागि पर्ने उनको भनाई छ । एमालेको माघ २१ गतेको वैठकले जैगडीसहित गोदावरीका तीन जना गरि १४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।