अत्तरिया – कैलालीको अत्तरियामा युवक मृत फेला परेको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा चैत्र २७ गते डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर– ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीले आज पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न भएका मुख्य आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका बैतडीको डिलासैनीका ३५ वर्षीय हेमन्त बोहरालाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका बोहरा विरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेती इप्रका मालाखेती का प्रमुख प्रहरी उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ परेका बोहरा पूर्व सशस्त्र प्रहरी पनि हुन् ।
यस्तो छ घटनाको विवरण :
करिब ८ वर्ष सशस्त्र प्रहरीमा जागिर खाएका बोहरा बोहरा छोडेर वैदेशिक रोजगारीका लागि दुवै पुगेका थिए । सोचेजस्तो नभएको भन्दै थोरै समय बसेर ६ /७ वर्षअघि घर फर्किएका थिए ।
त्यसयता उनी अत्तरिया,धनगढीका विभिन्न होटलहरुमा काम गर्दै आएका थिए । गत चैत्र २६ गते दिउँसो देखि नै अत्तरिया स्थित शिविरमा मदिरा सेवन गरेका बोहरा रातीको समयमा अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिरमा सुत्न गएको र उनी आउनु पहिला त्यही मन्दिरमा कैनी सुतिरहेका थिए ।
आरोपित बोहरा करिब ९ बजेतिर पुनः उठेर अत्तरियाका होटलमा मदिरा खोज्न गएको र त्यही क्रममा धनगढी रोड स्थित गुरुङ मम सेन्टरबाट डिस्पोजल ग्लास रहर भन्ने मदिरा खरिद गरि फेरि मन्दिरमा गएर सुतेको खुलेको छ ।
रातीको समयमा उठ्दा आफ्नो ४ सय रुपियाँ हराएको र त्यही सुतेका कैनीले चोरेको आशङ्कामा उनलाइ ढुङ्गा प्रहार गरि हत्या गरेको अभियुक्तको बयान रहेको थापाले बताए । मन्दिरको बरन्डाबाट घिसार्दै शव बाहिरसम्म लगेर फालिएको थियो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कैलालीमा पेश गरिने जनाइएको छ । घटनाको इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगर लगायतका निकायले अनुसन्धान गरेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले यसअघि ३ जना व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको थियो । यसअघि कैनीको हत्या आफूले नै गरेको भनि उनीहरुले नै स्वीकार गरिसकेका समाचार समेत बाहिरिएका थिए तर आज प्रहरीले भने बोहरालाई सार्वजनिक गरेको हो ।
यद्यपी अझै पनि ति तीन जना माथि पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । घटनास्थल दुर्गा मन्दिर परिसर इलाका प्रहरी कार्यालय मालाखेतीको ठिक विपरीत दिशामा छ ।
प्रहरी कार्यालय र घटनास्थलको दुरी करिब १०० मिटर छ अर्थात प्रहरी कार्यालय र घटनास्थल सडकको वारीपारी छन् । इप्रका मालाखेतीको मुख्य गेटमा पनि नियमित ड्युटी हुन्छ । तर उक्त घटनाको सुइँको नपाएको इप्रका मालाखेती चैत्र २७ गते बिहान करिब ७ बजे मात्रै घटनास्थल पुगेको थियो । अत्तरिया क्षेत्रमा दिनदहाडै खुकुरी प्रहार र हत्याका घटना सार्वजनिक भएपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।