
अत्तरिया – गोदावरी नगरपालिका- १ ले वडामा सक्रिय स्वास्थ्य स्वयंसेविकाहरूलाई सामग्री वितरणसहित सम्मान गरेको छ ।
आईतबार आयोजित एक औपचारिक कार्यक्रममा वडाभित्र विभिन्न स्वास्थ्य क्षेत्रमा समर्पित १० जना महिला स्वयंसेविकालाई झोला वितरण गरी दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष गोपालदत्त भट्टले स्वास्थ्य सेवाको आधारभूत तहमा योगदान पु¥याउँदै आएका स्वयंसेविकाहरूलाई प्रोत्साहित गर्न वडाको बजेटबाट सामग्री वितरण र सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
“स्वास्थ्य सेवा पहुँचका लागि स्वयंसेविका नै आधारशिला हुन् । उनीहरूले निस्वार्थ भावनासाथ समुदायमा निरन्तर सेवा दिँदै आएका छन्’ उनले भने ।
यस्तै कार्यक्रममा घण्टेश्वर माध्यमिक विद्यालयकी प्रधानाध्यापक जानकी भट्टले स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रसँग जोडिएको महत्वपूर्ण अंगको हो उनले भने “डाक्टर र नर्सलाई हामी अस्पतालमा मात्र भेट्ने गर्छौं, तर गाउँघर र टोलटोलमा स्वास्थ्य सेवा पु¥याउने मुख्य जनशक्ति स्वयंसेविकाहरू नै हुन् ।
उनीहरूले स्थानीयस्तरमा स्वास्थ्यका विविध आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’, उनले भने । स्वयंसेविकाहरूलाई सम्मान गर्ने कार्यक्रम वडा नं. १ को आ.व. २०८१/०८२ अन्तर्गत सञ्चालन गरिएको हो ।
















