कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीमा प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका–३ कुसुमघाटबाट ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २६ वर्षीय विशाल विष्ट, वडा नम्बर २ का ३४ वर्षीय रामबहादुर शाही र वडा नम्बर ५ का २१ वर्षीय विज्ञान भण्डारी रहेका छन्।

nisarga

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले सोमबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०११ प ६७१४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ मनेहरा रानागाउँबाट १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित २२ वर्षीय सुरेश राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार साँझ शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।