भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

Image
maya metro

महेन्द्रनगर – तीन वर्षअघि भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरमै अध्ययन गरेर एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भीमदत्त नगरपालिकाले सम्मान ग¥यो।

घरको आर्थिक अवस्था कमजोर भएका सार्कीले तयारीका लागि रकम नभएपछि स्वअध्ययनका आधारमा प्रवेश परीक्षामा नाम निकालेका थिए। घरमै बसेर एमबिबिएसमा नाम निकालेको भन्दै उहाँको त्यसबेला सबैतिर चर्चा भयो।

nisarga

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत सार्कीलाई भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन छात्रवृत्ति उपलब्ध गराएको छ। “भीमदत्त नगरपालिकाले सम्मानसहित छात्रवृत्ति रकम गत वर्ष पनि दिएको थियो”, उनले भने, “छात्रवृत्ति रकमले शैक्षिक सामग्री र अन्य खर्च व्यवस्थापनमा सहज भएको छ।”

भीमदत्त नगरपालिका शिक्षा शाखाका अधिकृत कलावती मिश्र भट्टले एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई पालिकाबाट दुई लाखका दरले छात्रवृत्ति रकम प्रदान भइरहेको जानकारी दिइन्।
ललितसँगै भीमदत्त नगरपालिकाकै अर्का विद्यार्थी लोकेश भट्ट पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययरत छन्। कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पालिकामा बसोबास गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिले अध्ययनमा धेरै सजिलो भएको छ।

अमृता मल्ल नेपाल वेष्र्टन एकेडेमीमा बिबिएस अध्ययनरत छिन्। उनलाई छात्रवृत्तिस्वरुप ५० हजार प्रदान गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। गत आर्थिक वर्षदेखि यहाँ नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने भन्दै ‘छोरी–बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको छ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सो कार्यक्रमबाट सात जना छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको बताइन्। गत वर्ष सात जना छोरी र बुहारीलाई अध्ययनका लागि रु चार लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरिएको उपप्रमुख लेखकको भनाइ छ। “आर्थिक अभावका कारण छोरी–बुहारी अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौँ”, उनले भनिन्, “शिक्षा र स्वास्थ्यमा नगरपालिकाले प्राथमिकताका साथ बजेट उपलब्ध गराएको छ।”

भीमदत्त नगरपालिकाले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीले प्राविधिक शिक्षालाई नै प्राथमिकतामा राखेका छन्। एमबिबिएस, इञ्जिनियरिङ, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

रासस