
अत्तरिया – कैलालीको गोदावरीमा आँगनमै बच्चा जन्माएकी महिलाका आफन्त १४ दिन बित्दासम्म पनि सम्पर्कमा आएका छैनन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेलकुना माइती भई बझाङको थलारा गाँउपालिका २ का डम्बर जोशीसंग बिहे गरेको बताउने २४ वर्षीय चन्द्रा आर्चायले गत जेठ ६ गते गोदावरी- १ स्थित बसन्तपुरमा एक व्यक्तिको आँगनमा बच्चालाई जन्म दिएकी थिइन् ।

पछि उनलाई प्रहरीले उद्धार गरि पदमा अस्पताल पुर्याएको थियो । हाल उनलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले संरक्षणमा राखेको छ ।
महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले आर्चायका श्रीमान लगायत कोहि पनि आफन्त सम्पर्कमा नआएको बताइन् ।
“उहाँको श्रीमान लगायत कोहि पनि आफन्त सम्पर्कमा आएका छैनन्, उनले भनिन्, गत शुक्रबार हामीले हिन्दु परम्परा अनुसार बच्चाको न्वारन सम्पन्न गरिसकेका छौँ । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ ।”
आर्चायले धेरै कुरा खुलाउन नचाहँदा आफन्त पहिचानमा समस्या भइरहेको उनले बताइन् ।
गोदावरीकै अत्तरिया सेरोफेरोमा महादेव टोलमा कोठामा बस्ने गरेको ति महिलाले बताउँदै आएकी छिन् । तर धेरै कुराहरु साँचो नबोलेको र लुकाइरहेको खुलेको अध्यक्ष मलासीले बताएकी छिन् ।
उनका अनुसार ति महिलाले वनगाँउबाट किरानाका सामानहरु ल्याएर धनगढी, अत्तरियामा बिक्रि गर्दै आएको पनि बुझिएको छ ।















