
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १५ वटा विद्यालयमा लागूऔषध दुव्र्यसनीबारे सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक विकास मञ्चको आयोजना तथा गोदावरी नगरपालिकाको सहयोगमा नगरपालिकाका विभिन्न विद्यालयमा लागूऔषध र्दुव्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
१५ दिने उक्त कार्यक्रमको बुधबार (आज) दुर्गालक्ष्मी नमूना मावि अत्तरियामा एक समारोहका बिच समापन गरिएको छ । गोदावरी क्षेत्रमा लागूऔषध ओसारपसार तथा प्रयोगकर्ता बढ्दै गएपछि नगरपालिकाले न्यूनिकरणबारे सचेतना फैलाउने अभियान सुरु गरेको हो । १५ विद्यालयमा आयाजना गरिएको उत्त कार्यक्रममा करिब तीन हजारभन्दा बढी विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणबारे सचेतना गराइएको सामाजिक विकास मञ्चका अध्यक्ष यज्ञराज कापडीले बताए ।

घण्टेशवर मावि अत्तरिया, दुर्गालक्ष्मी नमूना मावि अत्तरिया, ग्वासी मावि मालाखेती, राष्ट्रिय मावि बास्कोटा, सरस्वती मावि गेटा र शैलेश्वरी मावि बडेहाँमा उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए । त्यस्तै नवज्योती मावि मालिका टोल, समैजी मावि मजगाँउ, सरस्वती मावि सेहरी, जानकी मावि ओलानी, सरस्वती मावि ओलानी, दुर्गा मावि कोल्मुडा, एभरेष्ट एकेडेमी, लोटस आइ सेकेन्डरी स्कुल र सत्यवती एकेडेमी अत्तरियामा लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणबारे सचेतना गराइएको कापडीले बताए ।
पछिल्लो पुस्ता लागूऔषध दुव्र्यसनीतर्फ फस्दै गएको बेला आफूहरुले नगरपालिकासंग समन्वय गरि सचेतना कार्यक्रमको आयोजना गरेको उनले बताए । कापडीले गोदावरी नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको बताए ।
“हामीले हाम्रो समाज र विशेष गरि भावि पुस्तालाई सहि मार्गमार्फ डोर्याउन सक्यौं भने भौतिक विकास बिस्तारै पनि गर्न सकिन्छ गोदावरी नगरपालिकाले अहिले सामाजिक विकासमा लगानी गरिरहेको छ । त्यसका लागि नगरपालिकालाई धन्यवाद व्यक्त गर्दछु ।” उनले भने ।
समापन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले सबैभन्दा बढी किशोरावस्थादेखि २४/२५ वर्षसम्मको उमेर समूह लागूऔषध दुव्र्यसनीमा फसेको विभिन्न तथ्याङ्कले देखाएको हुँदा त्यहि उमेरसमूहलाई लक्षीत गरि नगरपालिकाले यस कार्यक्रमका लागि बजेट विनियोजन गरेको बताए ।
उनले आउने पुस्तालाई गलत बाटोतर्फ जान नदिनु राज्यको दायित्व भएको बताए । भट्टले विद्यार्थी र युवा युवतीहरुले लागूऔषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।
भट्टले किशोरकिशोरीमुखी कार्यक्रम आयोजना गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक ईन्द्रराज भट्टले साथी तथा आफन्तकै संगतबाट व्यक्ति लागूऔषधमा फस्ने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको बताए।
कैलालीमा भारतसंगको खुला सिमानका कारण पनि लागूऔषध ओसारपसार बढी हुने र प्रयोगकर्ता समेत बढी रहेको प्रहरी निरीक्षक भट्टले बताए । इलाका प्रहरी कार्यालय मालाखेतीको क्षेत्रमा गत आर्थिक वर्ष २०८०/८१ मा १०१ जना लागूऔषध मद्धामा पक्राउ परेकोमा यस वर्ष भने त्यो सङ्ख्या कम भएको बताए ।
लागूऔषध न्यूनिकरणका लागि सबै क्षेत्र जागरुक हुनुपर्ने भन्दै उनले यस कुनै पनि घटना भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।
समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्ट, अत्तरिया उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु उपस्थित रहेका थिए ।
















