
अत्तरिया – कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर- १ स्थित बन्साह तल्लोचौराहमा बिहिबार (आज) मध्यान्हृ बसले ठक्कर दिँदा सोहि ठाँउकी ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख ९२९ नम्बरको यात्रुवाहक रिजर्भ बसले सडकछेउमा हिँडिरहेकी भट्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकोमा उपचारकै क्रममा भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटना हुँदा बस सडक बाहिर पल्टिएको भए पनि बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन् । दुर्घटनापछि बस चालक शुक्लाफाटा- १० झलारीका ३८ वर्षीय जगत चौधरीलाई बससहित नियन्त्रणमा लिइ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















