
अत्तरिया – कैलालीका जिल्ला न्यायधिशको टोलीले गोदावरी नगरपालिकाको न्यायिक समितिको कामकारबाही निरीक्षण गरेको छ । शुक्रबार कैलाली जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामी नेतृत्वको टोलीले गोदावरी नगरपालिकाको न्यायिक समितिको कामकारबाही निरीक्षण गरेको हो ।
न्याय प्रशासन ऐन, २०७३ र जिल्ला अदालत नियमावली, २०७५ बमोजिम जिल्ला अदालतले गर्ने नियमित निरीक्षण अन्तर्गत न्यायाधीश धामीको टोलीले नगरपालिकाको विवाद समाधान प्रक्रिया, अभिलेख व्यवस्थापन, तथा नागरिकले पाउने न्यायिक सेवाको अवस्थाबारे प्रत्यक्ष अनुगमन गरेको हो । निरीक्षणपछि न्यायाधीश धामीले न्यायिक समितिको अभिलेख, फैसलासम्बन्धी लेखाजोखा पारदर्शी, मितिले भरिपूर्ण र औपचारिक प्रक्रिया अनुरूप राख्न सुझाव दिएका छन् ।

उनले विवाद समाधानमा पक्षहरूबीच गरिएको सम्झौता वा निर्णयलाई विधिसम्मत रुपमा दस्तावेज गर्नुपर्ने, र मुद्दाका फाइलहरू व्यवस्थित रूपमा सुरक्षित राख्नुपर्ने सुझावसमेत दिएका छन् । धामीले न्यायिक समितिले महिला, दलित र विपन्न वर्गप्रति संवेदनशीलता अपनाउँदै निष्पक्ष निर्णय गर्नु अत्यावश्यक रहेको उल्लेख गरे । न्यायपालिकाको पहुँच सर्वसाधारणमा पुगोस् भन्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो ।
निरीक्षण टोलीमा जिल्ला अदालतका उपसचिव चेतराज पन्त स्रेस्तेदार (उप सचिव) र नायव सुब्बा कुलप्रसाद जोशी पनि सहभागी थिए ।
गोदावरी नगरपालिकाले न्यायिक प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउन अदालतसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । निरीक्षण कार्यक्रममा धामी सहितको टोली लाई नगरपालिकाले स्वागतसहित मायाको चिनो प्रदान गरेको थियो ।
















