
अत्तरिया – कञ्चनपुुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कृष्णपुुर नगरपालिका–१ को निगालीमा सर्पले टोकेर गम्भीर घाइते भएकी २८ वर्षीया कमला आउजीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले शुक्रबार राति साढे १२ बजेतिर घरभित्र सुतिरहेको अवस्थामा आउजीलाई सर्पले टोकेको बताए । सर्पले बाँया गालामा टोकेपछि गम्भीर भएकी आउजीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको डीएसपी बोहराले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आउजीलाई छाउगोठमा सुतेका बेला सर्पले टोकेको भनेर उल्लेख गरिएपनि प्रहरीले भने यसबारेमा आधिकारीक जानकारी प्राप्त नभएको बताएको छ ।
















