
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् ।
उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् ।

शुक्रबार साँझ कमला आउजीलाई महिनावारी भयो । छाउ बार्ने परम्पराअनुसार उनी महिनावारी भएका बेला छाउगोठमा बस्दै आएकी थिइन् । घर नजिकै कच्ची छाउकोठ पनि बनाइएको थियो ।
तर, शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजु समेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डस्यो ।
बाँया गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन् । बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई डसेको करेत सर्प उनको विस्तरा नजिकै हिंडिरहेको अवस्थामा भेटिएको भिडियो समेत स्थानीयले बनाएका थिए ।
उनका छिमेकी सुचित्र शाहकाअनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको कुरा थाहा भएको थियो । उनलाई तत्कालै अटो रिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् । बेलैमा उपचार नहुँदा अन्ततः कमलाको शनिबार साँझ ८ बजे निधन भयो ।
छाउगोठमा सुतेका बेला सर्पले टोकेर महिलाको अकालमै मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र नगरपालिका भित्रका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएर गोठ भत्काउने काम समेत गरिएको बताउँछन् । तर, ग्रामीण क्षेत्रमा अहिले पनि छाउगोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद् घटना हुन पुगेको उनी बताउँछन् ।
‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुपर्यो ।’
मेयर ओझाकाअनुसार अगामी आर्थिक वर्ष नगरपालिकामा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुकल अभियान नै चलाउने गरि नीति तथा कार्यक्रममा समेटिएको छ । पुर्ख्यौली घर अछाम भएका समुदायमा अहिले पनि छाउपडी भएका बेला महिला तथा किशोरीहरुलाई छाउगोठमा राख्ने गलत परम्परा कायम रहेको पनि उनी बताउँछन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।
यस्तो गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था उक्त ऐनले व्यवस्था गरेको छ ।
सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडावापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।
















