
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा गत आर्थीक वर्ष २०८१/८२ मा सवारी दुर्घटना चार गुणाले वृद्धी भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमका नौै वटै जिल्लामा गरि एक हजार दुई सय तीन सडक दुर्घटना भएका छन् ।

यो सङ्ख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा झण्डै चार गुणाले बढी हो । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३०९ वटा सडक दुर्घटना भएका थिए ।
गत आर्थिक वर्षदेखि डिआइआरएस (दैनिक घटना रिपोटिङ्ग प्रणाली) लागू गरेपछि दुर्घटना सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । यस प्रणाली अन्तरगत सडकमा भएका साइकल देखि ठुला सवारीसम्म हरेक दुर्घटनाको तथ्याङ्क राख्ने गरिन्छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमका नौ वटै जिल्लामा भएका एक हजार दुई सय तीन सडक दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ भने दुई हजार चार जना घाइते भएका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा २०८०/८१ मा ३०९ वटा सडक दुर्घटना हुँदा १७२ जनाले ज्यान गुमाएका थिए भने ५३६ जना घाइते भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ६१ हजार ५७६ सवारी साधनलाई कारबाही गर्दै चार करोड ४१ लाख ५१ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले ७३ हजार ४७९ सवारी साधनलाई कारबाही गर्दै चार करोड ८९ लाख ८७ हजार राजश्व सङ्कलन गरेको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कारबाही पर्ने र दुर्घटना हुनेमा मोटरसाइकल सबैभन्दा बढी रहेका छन् ।















