प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले भने : विभिन्न कोणबाट छलफल र बहस चलाएको यथार्थ हो, जनताका सरोकारसँग जोडिएको कुरामा सबै गम्भीर हुनुपर्छ

Image
maya metro

धनगढी – सात वर्षअघि प्रदेश सभाको दुई तिहाइ बहुमतले टुङ्ग्याएको सुदूरपश्चिम प्रदेश राजधानीको विषयले फेरि प्रदेश सभामा चर्चा पाएको छ । राजधानी सार्ने चर्चा चलेपछि प्रदेशको यो विषयले पुनः प्रदेश सभा तताउन थालेको हो । २०७५ असोज १२ गते तत्कालीन प्रदेश सभाले दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा प्रदेशको स्थायी राजधानी तय गरेको थियो । वन क्षेत्रमा तोकिएको राजधानी निर्माणका लागि प्रदेश सरकारले जग्गाको स्वामित्व हालसम्म प्राप्त गर्न नसकेपछि राजधानी निर्माणका लागि तोकिएको ठाउँको विकल्प खोज्ने कुरा सतहमा आएको छ ।

प्रदेश सभाबाट बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै गर्दा राजधानी सार्ने विषयले सदन ततायो । प्रतिपक्षी दलहरूले राजधानीको विषयमा विभिन्न टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री शाहले राजधानीबारे आफूले विभिन्न कोणबाट छलफल र बहस चलाएको यथार्थ रहेको बताए । सङ्घीयता र सुदूरपश्चिम प्रदेशको जनताका सरोकारसँग जोडिएको कुरामा सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

nisarga

“राजधानी निर्माणका सन्दर्भमा हाम्रो आवश्यकता हो कि होइन, त्यो निर्माण गर्नु पर्छ कि पर्दैन ? हाम्रा जटिलता, चुनौती के हुन् ? तिनको समीक्षा र बहस हुनु पर्छ कि पर्दैन ?”शाहले भने, “त्यतापट्टि जिम्मेवार ढङ्गले हामी सबै प्रस्तुत हुने छौँ भन्ने विश्वास मैले लिएको छु ।”

प्रतिपक्षी दलहरूले भने राजधानी सार्ने विषयको विरोध गरेका छन् । नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) ले सदनमा बोल्दै दुई तिहाइ बहुमतसहित अघिल्लो प्रदेश सभाले तय गरेको राजधानी कार्यान्वयन हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । अन्तर्राष्ट्रिय सीमानजिक रहेको धनगढीमा राजधानी कहाँनेर, कसरी सार्ने विषयमा आफ्नो पार्टीको गम्भीर चिन्ता र चासो रहेको उनको भनाइ थियो ।

“अघिल्लो सदनले निर्णय गरेको विषय किन कार्यान्वयन गर्न सकिएन ? कहाँ समस्या आएको हो ? कानुनी, प्राविधिक आधार के हो ?”, भाटले भने, “यहाँ भ्रम पाल्ने, भ्रम छर्ने काम भइरहेको छ ।” कानुनी र प्राविधिक रूपले राजधानी गोदावरीमा कार्यान्वयन गर्न सम्भव नभए त्यस विषयमा खुला छलफल गर्नुपर्ने उनको जोड थियो । “यसलाई सत्ताको हतियारका रूपमा कसैले प्रयोग नगरौँ,” भाटले भने ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावलले राजधानीको स्थान परिवर्तन गर्ने भन्दै भ्रम उत्पन्न गरी प्रदेशलाई अस्थायी संरचना बनाउने चेष्टा भइरहेको बताए  । राजधानी धनगढी सार्ने कुराले प्रदेश सरकारले प्रदेशको स्थायित्व नचाहेको स्पष्ट भएको उनको भनाइ थियो । रावलले भने, “सरकारले प्रदेशको स्थायित्व चाहिरहेको छैन । स्थायित्व गर्ने विषयमा अवरोध पैदा गरिरहेको छ ।” प्रदेशवासीको भाग्य र भविष्यमा सरकारले भाँजो हाल्न नपाउने भन्दै उनले सरकारलाई सचेत गराए ।

यसै गरी प्रतिपक्षी दल राप्रपाका खेमादेवी विष्टले मुख्यमन्त्रीले आफ्नो कुर्सी जोगाउन राजधानी सार्ने प्रयास र गृहकार्य गरिरहेको आरोप लगाइन् । तोकिएको राजधानी धनगढी सार्न नपाइने उनको जिकिर थियो ।