व्यवस्थित बन्दै गोदावरीको गौशाला

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको गौशाला व्यवस्थित बन्दै गइरहेको छ । छाडा पशु चौपाया व्यवस्थापन गर्ने उद्देश्यले वडा नम्बर ७ स्थित गोलादेउ सामुदायिक वनमा गोदावरी नगरपालिकाले गत वर्षको भदौमा गौशाला निर्माण गरेको थियो । उक्त गौशालामा हाल करिब एक सय पशु चौपायाहरु राखिएको गौशालाका संरक्षक यतिराज कँडेलले जानकारी दिए ।

गत भदौमा एउटा मात्रै ट्रस्ट निर्माण गरेर सञ्चालनमा ल्याइएको उक्त गौशालामा हाल एउटा ट्रस्ट थप गरिएको छ भने पानीको आपूर्ति गर्न डिप बोरिङ जडान गरिएको छ । ट्रस्ट थप भएपछि ब्याउने र दूध दिने गाईहरुलाई छुट्टै राख्ने योजनामा आफूहरु रहेको कँडेलले बताए । सोही योजना अनुसार गौशाला परिसरमा घाँस छरिनुका साथै वृक्षरोपण पनि गरिएको उनले बताए ।

nisarga

आहार र बासको उचित व्यवस्थापन नहुँदा गौशालामा ब्याएका र ब्याउने गाईहरुलाई स्थानीयले लैजाने गरेका छन् । गौशालामा यही साउन पहिलो हप्ता मात्रै बिजुली जडान गरि संरक्षकलाई बास बस्न कुटी पनि निर्माण गरिएको छ । कुटी व्यवस्थापन नहुन्जेल संरक्षक कँडेल नजिकै रहेको सामुदायिक वनको भवनमा बस्दै आएका थिए । गौशालाको क्षेत्र निर्धारण गरी तार वार गरेर गाईलाई बाहिर निस्किन नदिने व्यवस्था गरिएको छ । गौशालालाई आत्मनिर्भर बनाउने आफूहरुको योजना रहेको कँडेलले बताएका छन् ।

गौशालामा चौपयाको संरक्षणको साथै गाईको मलमूत्रलाई, अगरबत्ती, किटनाशक औषधि, स्वास्थ्य उपचार लगायतमा उपयोग गर्न सके गौशालाको आयस्रोत सुनिश्चित गरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाई छ । गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गौशालामा करिब सबै काम सम्पन्न भएको बताए । गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न यही आर्थिक वर्षमा कार्यविधि बनाएर अघि बढ्ने उनले बताए । कार्यविधि बमोजिम विकास समिति पनि गठन गरिने उनले बताए ।

“गौशालामा हामीले करिब सबै काम सम्पन्न गरिसकेका छौं,अब छिटै सञ्चालन कार्यविधि बनाउँदै छौँ र त्यसै बमोजिम विकास समिति गठन गर्छौ अनि विकास समितिमार्फत नै गौशाला सञ्चालन हुन्छ ।, उनले भने ।” हेरालु थप गरि नगरपालिकाभित्र रहेका सबै छाडा पशु चौपायालाई गौशालमा लगेर व्यवस्थापन गर्ने उद्देश्य रहेको भट्टले बताए । दुग्धजन्य पर्दाथहरु उत्पादन गरी डेरी सञ्चालन गर्ने र गौशालालाई आत्मनिर्भर बनाइने उनको भनाई छ ।

गौशाला पूर्णरुपमा निर्माण सम्पन्न र व्यवस्थित भएपछि खेती बारी जोगिने विश्वास स्थानीयले गरेका छन् । स्थानीय लक्ष्मी साहुले गौशाला पूर्णरुपमा व्यवस्थित भए आफूहरुको खेती जोगिने विश्वास व्यक्त गरिन् । अहिले गौशालाभन्दा बाहिर पनि धेरै पशु चौपायाहरु भएकोले किसानको बालीनाली पूर्ण सुरक्षित नभएको उनले बताइन् ।

वरपर भएका सबै छाडा पशु चौपायाहरु गौशालामा व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । गौशालामा निर्माण गरिएका दुई वटा ट्रस्ट प्रदेश सरकारको ६० लाख सहयोगमा निर्माण गरिएका हुन् भने निर्माणका अन्य काम नगरपालिका आफैले गरिरहेको छ ।