
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- ७ का हर्क बहादुर विक अटो चालक हुन् । गोदावरी नगरपालिका भित्रको मुख्य बजारको रुपमै चिनिने वडा नम्बर- ८ स्थित स्याउले बजारसम्म जाने अटो चलाउने उनले नम्बरको पर्खाइमा अत्तरिया चोकमा प्राय घण्टौँ बिताउनु पर्छ । नम्बर नआँउदासम्म कि अटोमै बस्नुपर्छ, कि सडकमै । यी दुवै बसाई हर्क बहादुरका लागि सहज हुँदैनन् ।


त्यसको एउटा प्रमुख कारण हो, अटो स्टेसनको छेवैमा रहेको खुल्ला र दुर्गन्धित नाली । खुल्ला र फोहोर नालीका कारण गन्ध त आउँछ नै, लामखुट्टे पनि त्यतिकै लाग्छन् । “अटो धेरै छन्, नम्बर आउन कहिलेकाँही त दुई तीन घण्टा नै लाग्छ, यहाँ बस्दा नालीबाट गन्ध त्यस्तै आउँछ लामखुट्टे त्यति नै लाग्छन्, हर्क बहादुरले भने ।” अटो स्टेसन छेउको नालीमाथि ढक्कन राखिदिए अटो चालक र यात्रु सबैलाई सहज हुने थियो भन्ने लाग्छ उनलाई ।
गोदावरी- १ की पवित्रा ओली दिनहुँ जसो अत्तरिया बजार आउजाउ गर्छिन् । व्यवसायी समेत रहेकी उनी अटोमै यात्रा गर्छिन् । बसन्तपुरकी बासिन्दा पवित्रालाई अत्तरिया चौराहको सडक छेउमा रहेको हिलो र माटोसहितको ताल देख्दा दुख लाग्छ । सडक छेउको यो हिलो र माटो सफा गर्ने जिम्मेवारी सडक विभागको हो की, नगरपालिकाको पवित्राले भेउ पाएकी छैनन् । जस्को जिम्मेवारी भए पनि सुन्दर अत्तरिया चौराहालाई कुरुप देखाउने यो दृश्य सफा भइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

“अहिले वर्षामा त झन् कस्तो नराम्रो देखिएको छ, सडक विभागले बनाउनु पर्ने हो भन्ने सुन्छु, सडक विभागले नबनाए पनि नगरपालिकाको त ध्यान जानुपर्ने होनी, उनले भनिन्, कि दुवै निकायबिच समन्वय नभएर पो यस्तो भएको पो हो की?”। अत्तरिया चौराहा वरिपरि देखिने यो दृश्यले झण्डै करोड लगानीमा सिंगारिएको चोकको सुन्दरतालाई समेत गिज्याइरहेको हुन्छ । गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट चौराहाको उक्त सडक र नाली सडक डिभिजनको कार्यक्षेत्र भए पनि नगरपालिका पनि उक्त दृश्यको नैतिक जिम्मेवार भने रहने बताउँछन् ।
“यो सडक र नाली सडक डिभिजनको कार्यक्षेत्र अन्तरगत पर्छ तर हाम्रो नगरपालिकाको कार्यक्षेत्र भएकोले हामीले पनि सडक डिभिजनसंग समन्वय गरिरहेका छौँ, उनले भने नालीमाथि ढकनीहरु राख्ने काम चाहिँ छिटै अगाडि बढ्छ भनेर सडक डिभिजनले भनेको छ ।” सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवले चालु आर्थिक वर्षमा अत्तरिया चोक र नाली दुवैको समाधान गर्ने योजना डिभिजनसंग रहेको बताए । उनले ड्रेन कभर (नालीको ढकनी) का लागि ठेक्का आहृवान भइसकेको यादवले बताए ।

“धनगढी अत्तरिया ६ लेन सडक खण्डको नाली निर्माण गर्दा अत्तरिया चोकको पूर्वपट्टिको भागको समस्या समाधान हुन्छ, यादवले सुदूर टाईम्ससंग भने, अत्तरिया बजार क्षेत्रमा ड्रेन कभर राख्नका लागि हामीले साउन ११ गते नै ठेक्का आह्वान गरिसकेका छौँ ।” अत्तरिया बजारका नालीहरुमा ढकनी नहुँदा दुर्घटनाको जोखिम समेत रहेको छ । वर्षाको समयमा सवारी तथा पैदल यात्रीहरु नालीमा हेलिन पुगेका भिडियो क्लिपहरु सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।
















