धनगढी खुटिया सडकमा निर्माणधिन ‘बक्स कल्भर्ट’को बेहाल,यात्रुलाई सास्ती

Image
maya metro

अत्तरिया – कैलालीको धनगढी खुटिया सडक खण्डमा निर्माणाधीन डबल सेल बक्स कल्भर्टमा यात्रुले सास्ती खेप्नु परेको छ । धनगढी खुटिया सडक खण्ड अन्तरगत गोदावरी- ८ स्थित जोनापुरको सुक्टी खोलामा निर्माणाधीन बक्स कल्भर्टमा यात्रुले सास्ती खेप्नु परेको हो । निर्माणाधीन यो कल्भर्ट पानी पर्दा हिलाम्मे हुने गरेको छ । कल्भर्ट निर्माण भइरहेको ठाउँमा वैकल्पिक बाटोको समेत उचित व्यवस्था नहुँदा धनगढी खुटिया सडक खण्डमा यात्रा गर्ने दर्जनौँ यात्रु सास्ती खेपिरहेका छन् । निर्माणाधीन स्थानमा वैकल्पिक बाटोको उचित व्यवस्था नहुँदा दिनहुँ सास्ती खेप्नु परिरहेको स्थानीयको भनाई छ ।

गोदावरी- ८ का स्थानीय शिव नारायण चौधरीले कल्भर्ट निर्माणका क्रममा वैकल्पिक बाटोको समेत व्यवस्था नगर्दा सास्ती खेप्नु परिरहेको बताए । “अलि अगाडिबाट अर्को बाटो छ, त्यही बाटोमा ग्राभेल गरिदिएको भए पनि अलि सजिलो हुन्थ्यो तर त्यहाँ त झन् खाल्डैखाल्डाका कारण दुर्घटनाको जोखिम रहेको छ ।, उनले भने ।”

nisarga

सुक्टी खोलामा डबल सेल बक्स कल्भर्ट निर्माण गर्न धनगढी खुटिया दिपायल चैनपुर उरै भन्ज्याङ सडक आयोजनाले मूल्य अभिवृद्धि करसहित ३ करोड १५ लाख ५५ हजार ६३७ रुपियाँमा पृथ्वी पशुपति जे.भीलाई ठेक्का दिएको थियो । सोहि सडक खण्ड अन्तरगत मटियारी खोला र सुक्टी खोलामा २०८२ पुस २० मा काम सम्पन्न गर्ने गरी २०८१ पुस ८ गते ठेक्का भएको थियो ।

असारसम्म आयोजनाको करिब ७१ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी दिनेश सिंह रैखोलाले बताए । उनले भने वैकल्पिक बाटोमा हालिएको ग्राभेल वर्षाको समय भएको हुँदा बगेर जाँदा समस्या भएको बताएका छन् ।