
अत्तरिया – कैलालीमा बिहीबार घरबाट बेपत्ता भएकी महिला छाेरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी १० महिनाकी छाेरी अनुजा चाैधरी रहेकाे प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थीले डगाैरा छाेरीसहित घर नजिकै रहेकाे गाैरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकाे बताए ।

उनकाअनुसार आमाछाेरी एउटै रूखमा फरक-फरक पासाेमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । डगाैरा छाेरीसहित साउन २९ गतेदेखि बेपत्ता थिइन् । खाेजीका लागि परिवारले प्रहरीमा निवेदन दिएकाे थियोे ।
उनी खाेजीकाे क्रममा शनिबार मृत भेटिएकी हुन् । उनकाे शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डगाैरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।















