
अत्तरिया – सुदूरपश्चिममा छाडा पशु चौपायाका कारण २४ सडक दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सडकमा छोडिएका चौपायाका कारण २४ वटा सडक दुर्घटना भएका हुन् ।
दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ जना घाइते भएका छन् । दुर्घटनामा १२ वटा चौपायाको समेत मृत्यु भएको छ भने १३ वटा चौपाया घाइते भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा छाडा चौपायाका कारण ३ जना मानिसको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ भने १८ जना घाइते भएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिमका ९ वटै जिल्लामा छाडा चौपायाका कारण १७ वटा सडक दुर्घटना भएको प्रहरीले जनाएको छ । जस्मा १३ चौपायाको मृत्यु भएको छ भने १४ वटा घाइते भएका थिए ।
रातिको समयमा हुलमा छाडा चौपाया सडकमै बास बस्ने भएकाले पनि दुर्घटना बढी हुने गरेको प्रहरीको भनाई छ ।
छाडा चौपायाका कारण रातीको समयमा बढी सडक दुर्घटना हुने गरेको भन्दै विभिन्न ठाउँमा प्रहरी र स्थानीयहरुले रिफ्लेटिभ स्टिकर पनि लगाउने गरेका छन् ।















