
अत्तरिया – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आउँदो २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीले सङ्गठन बिस्तार गरिरहेको बताएका छन् । प्रेस चौतारी कैलालीले आज अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले मिसन ८४ मा एकल बहुमत ल्याउने गरी एमालेका नीति, विधि र सङ्गठनात्मक प्रबन्धहरूलाई व्यवस्थित गरिने पोखरेलले बताएका हुन् ।
एमालेले विगतमा संवृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय आकाङ्क्षाका रूपमा प्रस्तुत गर्दै आएकोमा आगामी दिनमा राष्ट्रिय गन्तव्यका रूपमा परिभाषित गर्ने उनले बताए । “विगतमा संवृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय आकाङ्क्षाका रूपमा प्रस्तुत गर्दै आएका थियौँ,अब देखि हामी त्यसलाई राष्ट्रिय गन्तव्यका रूपमा परिभाषित गर्न चाहन्छौँ, पोखरेलले भने, त्यसका आधारमा हाम्रो मिसन संवृद्ध नेपाल सुखी नेपाली आकाङ्क्षा मात्रै होइन । नेपालको गन्तव्य बन्नु पर्दछ भन्ने सोच र योजनाले अगाडि बढेका छौँ ।”

पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले मुलुकको अस्थिरता र अराजकता नै विकास र सम्वृद्धीको बाधक भएको भन्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने गरी अगाडि बढेको बताए । “मुलुकको अस्थिरता र अराजकता नै विकास र सम्वृद्धीको बाधक हो भन्ने मान्यताका आधारमा हामी हाम्रो पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सोचका साथ अगाडि बढेका छौँ, उनले भने, अब हाम्रो समग्र संरचनात्मक काम केन्द्रीय प्रश्न के हुन्छ भन्दा निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने, जना धार बिस्तार गर्ने र मिसन ८४ मा नेकपा एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने उद्देश्यका साथ हामी विधान महाधिवेशनबाट पार्टीका नीति, विधि र सङ्गठनात्मक प्रबन्धहरूलाई व्यवस्थित गर्ने काम गर्दैछौँ ।”
पार्टीका जोडिन खोज्ने सबै व्यक्तिहरूलाई पार्टीको वैधानिक व्यवस्थाका कारण जोड्न नसकिएको पोखरेलले बताए । यो समस्या समाधानका लागि दुई प्रकारको पार्टी सदस्यता प्रबन्ध गर्ने निर्णयमा एमाले पुगेको बताउँदै उनले यस्ले पार्टीलाई बढी जनाधारी र बलियो बनाउने बताए । पत्रकार सम्मेलनमा उनले दुई ठुला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताए । उनले मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कायम गर्ने र स्थायित्वको आधार तयार गर्ने उद्देश्यले दुई ठुला पार्टीको सरकार बनेको बताउँदै सोही अनुरूप सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताए ।
संविधान संशोधनको विषयमा सरकार कसरी अगाडि बढिरहेको छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अनुकूल समय र बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम अघि बढ्ने बताएका छन् । राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने पोखरेलको भनाई थियो । अहिले संविधान संशोधनको वातावरण नबनेको उनले बताए । “संविधान संशोधनका लागि वातावरण बनाउनुपर्छ । राष्ट्रिय सभामा सत्तारुढ प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छन् । दुवै दल मिलेर सफलता प्राप्त गर्छौँ । अनुकूलता निर्माण गर्छौँ ।
त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौँ ।, उनले भने ।” दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार उद्देश्य अनुरूप नै अघि बढिरहेको पोखरेलले बताए ।” काँग्रेस नेता शेखर कोइरालाले ‘एमालेले खाली जमिन देख्नै नहुने’ भनी दिएको अभिव्यक्तिप्रति सञ्चारकर्मीको प्रश्नमा पोखरेलले आफ्नै अनुहारमा छिटा पर्ने खालको अभिव्यक्ति दिन नहुने टिप्पणी गरे । “सरकारमा सामेल हुने, सरकारप्रति चाहिँ प्रतिपक्षको व्यवहार गर्ने ! अझ शेखरजीको कुरा हेर्दा कस्तो लाग्छ भने सरकारमा संस्थापन पक्षसँग हिस्साका लागि बहस–विवाद पनि गर्ने, हिस्सा प्राप्त गर्ने’ उनले भने, ‘तर, सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो होइन। त्यो चिज उहाँले सुधार्नुपर्छ।”
भूमिहीन, अव्यवस्थित सुकुम्वासीको समस्या समाधान गर्न खोजिएको कुराप्रति कोइरालाको आपत्ति हो भने सरकारले त्यो अवश्य गर्ने उनको भनाइ थियो । “खाली जग्गाजमिन कहाँ कसले कसरी प्रयोग गरेको छ अभिलेखमा देखिने कुरा हो। नेपाली काँग्रेसका नेताहरूका नाममा प्रतिष्ठान बनाइएका पनि खाली जग्गाजमिनमै होला,’ कोइरालालाई लक्षित गर्दै पोखरेलले भने, ‘उहाँले पनि कतिपय ठाउँमा त्यसको नेतृत्व गर्नुभएको होला। भूमिहीन, अव्यवस्थित सुकुम्वासीको समस्या समाधान गर्न खोजिएको कुराप्रति आपत्ति हो भने त्यो त सरकारले गर्छ नै। त्यसमा आपत्ति गरेको हो भने चिन्ता पनि छैन ।”













