
अत्तरिया – कैलालीको अत्तरियामा सार्वजनिक यातायात सवारी साधनमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको सिटको अवस्था बारे छड्के अनुगमन गरिएको छ । नेपाल मानब अधिकार, यातायात कार्यालय कैलाली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले आज बिहान छड्के अनुगमन गरेकोे हो ।
अनुगमनको क्रममा अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न गाडीहरूमा अपाङ्गता भएका यात्रुका लागि छुट्याइएको सिटको अवस्था जाँच गरिएको थियो । नियम अनुसार सिट छुट्याइएको नभएको गाडीमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ । सवारी साधन सञ्चालनमा समान पहुँच सुनिश्चित गर्न र अपाङ्गता भएका व्यक्तिको सुविधा प्रदान गर्न गाडीमा सिट छुट्याउने व्यवस्थाको पालना अनिवार्य गरिएको छ । नियामक निकायहरूले आगामी दिनमा पनि नियमित अनुगमन र सचेतना अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

अनुगमनमा सहभागी सरोकारवालाहरूले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएका छन् । साथै सार्वजनिक यातायात व्यवसायीहरूले नियमको पालना गर्दै यात्रुहरूको सहायतामा सक्रिय भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी डम्मर बहादुर बिकले भने, “सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य हुनुपर्छ। अपाङ्गता भएका व्यक्तिलाई सिट नदिँदा उनीहरूको यात्रा कठिन हुन्छ। हामीले अनुगमनमार्फत सवारी सञ्चालकले नियम पालना गरिरहेको सुनिश्चित गर्ने प्रयास गरेका छौं।” यातायात कार्यालय कैलालीका प्रमुख भुवन जोशीले सवारी साधन सञ्चालकले मात्रै नभइ यात्रुले पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय मानब अधिकार आयोगका सह–सचिव प्रकाश दत्त भट्टले सार्वजनिक यातायातमा समान अधिकारको सुनिश्चितता संवैधानिक दायित्व भएको भन्दै अनुगमनले सञ्चालक र यात्रु दुवैलाई सचेत बनाउने बताए । अनुगमनका क्रममा आफ्नो भनाई राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी प्रमुख उपरीक्षक प्रेम शाहीले अपाङ्गता भएका व्यक्तिको सहायतामा प्रत्यक्ष सहभागी हुनुपर्ने हाम्रो कर्तव्य हो।
नियम पालना नगर्ने गाडी सञ्चालकको कानूनी कारबाहीको व्यवस्था गरिएको हुँदा सोही बमोजिक अगाडि बढ्ने बताए । अनुगमनमा सहभागी अत्तरिया ईप्रका प्रमुख रण बहादुर चन्द, सुप समावेशी विद्यालयका मान बहादुर साउद, अत्तरिया उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिए । नियामक निकायहरूले आगामी दिनमा पनि नियमित अनुगमन र सचेतना अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।















