कैलालीमा असारदेखि भदौ १२ गतेसम्म पानीमा डुबेर २७ जनाको मृत्यु

Image
maya metro

अत्तरिया – बिहीबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित सेहरीको खुटिया नदीमा नुहाउन पसेका ४ किशोरले एकसाथ ज्यान गुमाए । घरबाट साथीको जन्मदिन मनाउन भनेर निस्किएका धनगढी ४ र ५ का बासिन्दा उनीहरूको डुबेकै ठाउँ नजिक करिब ४ घण्टापछि शव फेला पर्‍यो । घटनास्थलमा जम्मा भएका आफन्तका कारुणिक वेदनाले जो कसैलाई भावुक बनाउँथ्यो । १६, १७ वर्षका जवान सन्तान गुमाउँदाको पिडा शब्दले नाप-जोख गर्न सकिँदैन ।

खुटिया नदीमै गत भदौ २ गते बिहानै एक बालकको शव फेला पर्‍यो । भदौ १ गते दिउँसो घरबाट निस्किएका गोदावरी ९ का उनी २ बजेको समयमा खुटिया पुल मुनीको गहिरो भागमा डुुबि सकेका रहेछन् । सँगै गएका साथीले राती मात्रै जानकारी गराए । प्रहरी र आफन्तले अबेर रातीसम्म खोज्दा फेला परेनन् । अर्को दिन बिहान पानीमा तैरिरहेको अवस्थामा शव फेला पर्‍यो । यी केही प्रतिनिधि घटना मात्रै हुन् । महिनैपिच्छे विशेष गरी वर्षा याममा पानीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या कहाली लाग्दो छ ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत असारदेखि भदौ १२ गतेसम्म पानीमा डुबेर २७ जनाले मृत्यु वरण गरेका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी बालक तथा किशोरहरू रहेका छन् । २७ जना मध्य १३ जना बालक तथा किशोरहरूले ज्यान गुमाएका छन् । त्यस्तै ११ जना पुरुष र ३ जना महिलाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकांश घटना नदीमा नुहाउन गएका बेला भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । पोखरी, खाल्डो र नदी–खोलामा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेका घटना न्यूनीकरण गर्न विद्यालय स्तरमै आधारभूत पौडी खेल्न सिकाउनुपर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द बताउँछन् । त्यो सँगै जनचेतनामूलक कार्यक्रमहरू पनि प्रभावकारी हुन सक्ने उनको भनाई छ । दिनहुँ जसो डुबेर मृत्यु भएका घटनाले दुख लाग्ने गरेको गोदावरी नगरपालीकाकी पूर्व उप प्रमुख रत्ना कडायतले बताइन् । यी घटनाहरू कम गर्न स्थानीय पाठ्यक्रममै सचेतनामूलक पाठहरू समावेश गर्नु पर्ने उनी बताउँछिन् । अभिभावकलाई बालबच्चाको रेखदेख कसरी गर्ने र खाल्डा, पोखरीलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ ध्यान जानु अति आवश्यक रहेको उनले बताइन् ।

खतरामूलक ठाउँहरूमा सूचना बोर्ड टाँस्दा टाढाबाट नुहाउन आउनेहरूलाई पनि सहज हुने उनको भनाई छ । गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल रानाले बिहीबार घटना भएको स्थानमा सूचना बोर्ड टाँस गर्ने तयारी रहेको बताए । “चार जना किशोरहरूले एकै ठाउँमा अकालमा ज्यान गुमाउनु भनेको सानोतिनो घटना होइन, यो घटनाबाट हामी निकै दुखी छौँ ।, रानाले भने, उक्त घटनाको बारेमा आज प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ उहाँले पनि त्यही सुझाव दिनु भएको छ ।”

आफूले वडाको विपद् व्यवस्थापन समिति र गाउँका भलमन्सासंग पनि  सो बारे छलफल गरेको रानाले बताए ।  गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले खुटिया नदीमा बिहीबार भएको दर्दनाक घटनाले आफूलाई असह्य पिडा दिएको बताए । खुटियालगायत गोदावरीका विभिन्न नदीहरूमा बर्सेनि मानिस डुबेका घटनाहरू हुने गरेको भन्दै उनले अब नगर प्रहरीको एक टोलीलाई उद्धारको तालिम प्रदान गर्ने बताए ।

“समयमा जानकारी र उद्धार भए मानिस बचाउन सकिने अवस्था पनि हुन्छ, भट्टले भने अब नगर प्रहरीको एक टोलीलाई उद्धार तालिम प्रदान गरेर डुबेर मृत्यु हुने गरेका घटना न्यूनीकरण गर्ने प्रयास गछौँ ।” विद्यालय र समुदाय स्तरमा पनि यसबारे सचेतना फैलाउनु पर्ने भन्दै भट्टले प्रधानाध्यापकहरूको आगामी बैठकमा यस बारेमा छलफल गर्ने बताए । डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न प्रदेश सरकारले पनि सहयोग गर्नु पर्ने उनको भनाई छ ।