गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Image
maya metro

अत्तरिया – कैलालीको गेटामा स्थापित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनका लागि स्थानीयहरु निरन्तर खवरदारी गर्दै आएका छन् । मंगलबार विश्वविद्यालय सञ्चालनमा ल्याउन माग गर्दै प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । विश्वविद्यालय सञ्चालनका लागि संघर्षरत सुदूरपश्चिमवासीको स्वस्फूर्त प्रयासलाई अघि बढाउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा, २०८० सालमा विधेयक पारित भई २०८२ जेठ ४ गते प्रतिनिधिसभाबाट स्वीकृत र राष्ट्रपति मार्फत प्रमाणीकरण भइसकेको उक्त विश्वविद्यालय अझै कार्यान्वयनमा आउन नसक्दा स्थानीयवासी निराश भएको भन्दै सरकारसँग ऐन कार्यान्वयन गर्न माग गरिएको उल्लेख गरिएको छ । समितिले विश्वविद्यालयको संरचना तयार गर्न, पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र शैक्षिक कार्यक्रम सुरू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

nisarga

ज्ञापनपत्रमा संघर्ष समितिका संयोजक लोकेराज पाण्डे (आगो), सह–संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ, “सुदूरपश्चिमको जनताले गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा रोजगारीको लागि यो विश्वविद्यालयलाई अत्यन्तै जरुरी मान्दछन् । तर, सरकारले आवश्यक पहल नगर्दा यो ऐतिहासिक विश्वविद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।”

समितिले एमबीबीएस, नर्सिङ, अन्य स्वास्थ्य विज्ञानका अध्ययन कार्यक्रम सञ्चालन, ६ सय शय्याको अस्पताल सञ्चालन, प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापना लगायतका कार्य तत्काल सुरु गर्नुपर्ने माग गरेको छ । ज्ञापनपत्र बुझाउन संघर्ष समितिका सदस्य र नागरिक समाजका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।