कैलाली कारागारबाट भागेका छ जना टिकापुरमा पक्राउ

Image
maya metro

कैलाली – इलाका प्रहरी कार्यालय टिकापुरले कारागारबाट भागेका ६ जना कैदीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अन्य फरार कैदीहरूको पनि खोजी र पक्राउ गर्ने क्रम जारी छ। भदौ २४ गते धनगढीमा भएको जेन्जी आन्दोलनपछि कैलाली जिल्ला कारागारबाट फरार भएका कैदीहरू क्रमशः सम्पर्कमा आउन थालेका छन्।

जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाका अनुसार हालसम्म करिब ३० जना कैदी आफैं सम्पर्क गरेर कारागार प्रशासनसँग समर्पण भएका छन्। उनका अनुसार केही कैदीका अभिभावकहरूले पनि सम्पर्क गरेर छोराछोरीलाई कारागार बुझाउने आश्वासन दिएका छन् भने कतिपय कैदी स्वयं सम्पर्क गरेर कारागार फर्किने इच्छा व्यक्त गरिरहेका छन्।

nisarga

आजै कारागार प्रशासनले फरार कैदीहरूलाई तुरुन्त सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी गरेको छ। जेलर सापकोटाले भने, ‘हामी सूचना जारी गर्दैछौं। सूचनाअनुसार फरार कैदीहरू सम्पर्कमा आउनेछन् भन्ने विश्वास गरेका छौं। यदि सूचनापछि पनि सम्पर्कमा आएनन् भने उनीहरूलाई फरार सूचीमा राखेर प्रहरीले पक्राउ गर्नेछ।’

कैलाली कारागारमा नेपाली मात्र नभई भारतीय नागरिक कैदीहरू पनि रहेको जानकारी कारागार प्रशासनले दिएको छ। नाकाहरूमा कडाइ गरी नेपाली नागरिकलाई भारत छिर्न नदिइए पनि भारतीय नागरिकलाई नागरिकताको आधारमा प्रवेश दिन थालिएको हुँदा भारतीय कैदीहरू भारत भाग्ने जोखिम रहेको प्रशासनले आशंका व्यक्त गरेको छ।

जेन्जी आन्दोलनका प्रदर्शनकारीहरूले कारागारमै प्रवेश गरेपछि प्रशासनले कैदीहरूलाई छोड्नु परेको थियो। त्यस दिन कारागारमा रहेका ६१८ जना कैदी सबै फरार भएका थिए।