
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट चोरेका १३ थान कुर्ची र ३ थान आराम बेन्च पनि चोरले फिर्ता गरेर गएको छ ।
गत भदौ २४ गते मङ्गलवार दिउँसो जेनजी समूहको तोडफोड र आगजनीपछि तहसनहस बनेको नगरपालिकामा मङ्गलवार राती थुप्रै सामानहरू चोरी भएका भिडियो हरु नै सार्वजनिक भएका थिए ।

चोरी, आगजनी, तोडफोड र चोरीको यर्थाथ विवरण भने आउन सकेको छैन । चोरी भएका मध्य बिहीबार राती १३ थान कुर्ची र ३ थान आराम बेन्च पनि चोरले फिर्ता गरेर गएको नगर प्रहरीले जनाएको छ ।
यस अघि बुधवार राती पनि ३ थान प्लास्टिक कुर्ची, त्रिपाल र दुई थान सिलिङ पङ्खा पनि रातीको समयमा आएर नगरपालिकाको गेट अगाडि राखेर गएका थिए । त्यसपछि ती सामानहरू गेट भित्र राखिएको नगर प्रहरीले जनाएको छ ।
नगर प्रहरीका अनुसार गोदावरी नगरपालिकाबाट कम्प्युटर, कुर्ची, पङ्खा, त्रिपालसहित झाडु समेत चोरी भएको छ ।















