
अत्तरिया – गोदावरी नगरपालिकाको प्रशासकीय भवन सुरक्षित रहेको प्रविधिकहरुले औल्याएका छन् । बिहिबार प्रविधिकहरुले गरेको अध्ययनले मर्मतपछि सञ्चालन गर्न सकीन्ने जनाएको छ । भदौ २४ गते जेनजी आन्दोलन गर्दा नगरपालिकाको भवनमा आगजनी हुनाका साथै लुटपाट समेत भएको थियो । नेपाल इन्जिनियर्स एसोसिएसनले आरभिडिए प्रविधिबाट अध्ययन गरेको हो ।
भवनको संरचनात्मक अखण्डता सुरक्षित रहेको र आंशिक मर्मत–सम्भारपछि भवनलाई प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालिएको छ । एसोसिएसनको टोलीले कङ्क्रिट टेस्ट ह्यामर प्रयोग गरेर भवनका पर्खाल र स्तम्भको लोड–बेअरिङ क्षमता परीक्षण गरेको हो । अध्ययन अनुसार, भवनका दुई कोठामा मात्र छत र डण्डीमा आंशिक क्षति भएको छ । ती कोठा तत्काल प्रयोगयोग्य नभए पनि मर्मतपछि पुनः सञ्चालनमा ल्याउन सकिने जनाइएको छ ।

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुवँरका अनुसार, “भवनको सम्पूर्ण मूल्याङ्कन नेपाल इन्जिनियर्स एसोसिएसनको टोलीले ग¥यो । प्रारम्भिक नतिजाले देखाउँछ कि संरचनात्मक भाग सुरक्षित छ । खानेपानी, विजुली र स्यानिटेशनमा व्यापक क्षति भए पनि भवन सञ्चालन योग्य छ ।” त्यसैगरी, इन्जिनियर पवन रावलका अनुसार २ कोठाबाहेक अन्य भागहरूमा फिनिसिङ मात्र बिग्रिएको छ । “भवनको मुख्य फ्रेम बलियो छ, त्यसैले आवश्यक मर्मतपछि सहजै प्रयोग गर्न सकिन्छ,” उनले भने ।
नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिमका उप सभापति इ. प्रकाश उप्रेतीका अनुसार तोङ्गफोड र आगजनीका कारण विद्युत र सेनिटेशन सिस्टमलाई पूर्ण रूपमा नयाँ डिजाइनबाट पुनःस्थापना गर्नुपर्ने छ । छतमा आंशिक ड्यामेज भए पनि भवनको लोड–बेअरिङ क्षमता अझै सुरक्षित छ । भवनका क्र्याक–प्याटर्न, कङ्क्रिटको कम्प्रेसिभ स्ट्रेन्थ र स्टील बारको कन्डिसन परीक्षण गर्न आवश्यक रहेको जनाएको छ ।
नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले आगलागी वा तोडफोडले कमजोर पारेका संरचनामा स–साना भूकम्पीय झट्काले पनि थप क्षति पु¥याउन सक्ने प्राविधिक चेतावनी छ । तर, प्रारम्भिक अध्ययनले गोदावरी नगरपालिकाको भवन संरचनात्मक हिसाबले सुरक्षित रहेको र आवश्यक मर्मतपछि प्रयोगमा ल्याउन सकिने देखाएको हो ।















