
अत्तरिया – धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१.००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार दुर्घटनामा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको हो ।
गम्भीर अवस्थामा उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरूको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । ट्रक र चालक चुरे गाउँपालिका ३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ट्रक सँग ठोक्किएको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–१२ सी गाउँ बस्ने ७० वर्षीय मना पार्कीलाई समेत ठक्कर दिएको जनाएको छ । उनलाई मोटरसाइकलले सी गाउँमा ठक्कर दिएको थियो । घाइते मनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















