ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– १२ मा रहेको ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ । क्रोसियामा रोजगारीमा रहेका युवाहरुले सहयोगी हातहरु नामक समुह गठन गरि प्रहरी चौकीलाई सहयोग गरेका हुन् ।

आइतबार एक कार्यक्रमबीच प्रहरी चौकीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो । सो अवसरमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रण बहादुर चन्दले कम्प्युटरले प्रहरीलाई सेवा दिन सहज हुने बताए । उनले प्रहरीलाई प्रविधीसंग जोड्न यो सहयोगले टेवा दिने विश्वास व्यक्त गरे ।

nisarga

युवाहरुले विदेशमा बसेर पारिवारिक जिम्मेवारी पुरा गर्नुका साथै सहयोग गरेर सामाजिक उत्तर दायित्व पनि पुरा गरेको उनको भनाई छ । कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले क्रोसियामा रोजगारी गरेर आफ्नो खर्च कटौती गरेर यस क्षेत्रका लागि सहयोग गर्ने युवाहरुबाट अरुले पनि प्रेरणा लिनु पर्ने बताउदै, कम्प्युटरबाट नागरिकलाई प्रवाह हुने सेवामा सहजता पुग्ने विश्वास व्यक्त गरे । उनले प्रहरी संग आवश्यक पुुर्वाधार र जग्गा अभाव भएकाले त्यसको समाधानका लागि पनि आफुहरु लागि परेको बताए ।

कार्यक्रममा साविक गोदावरी गाविसका पुर्व अध्यक्षका भानसिंह बिकले सहयोगी हातहरु संस्था जस्तै भारत लगायत अन्य क्षेत्रमा बसोवास गर्ने युवाहरुले पनि आफ्नो क्षेत्र बनाउन अघि बढ्नुपर्ने बताए । उनले अस्थायी प्रहरी पोष्टका लागि सबै निकायले मिलेर आवश्यक जग्गाको पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण बिकले कम्प्युटर सहयोगले प्रहरीलाई प्रविधीसंग जोड्नुका साथै स्थानीयहरुलाई मुचल्का बनाउन सहज हुने विश्वास व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही, ११ का वडा अध्यक्ष प्रेमसिह बडैला, वडा सदस्य कुमार बडैला, गोदावरी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बिक लगायतको उपस्थिति रहेको थियो ।