विपिन जोशीको स्थिति अज्ञात

Image
maya metro

इजरायल र हमासबीच युद्धविराम घोषणा भइसकेको छ। इजिप्टमा भएको अप्रत्यक्ष वार्तापछि बिहीबार इजरायल र हमासबीच झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको हो।

युद्धविराम सहमतिसँगै अर्को साताबाट गजामा हमासको कब्जामा रहेका बन्धकहरूलाई छाडिने भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

nisarga

युद्धविराम घोषणापछि बिहीबार इजरायलको राजधानी तेल अविभस्थित होस्टेज स्क्वायरमा बन्धकका परिवार उपस्थित भएर उत्सव मनाएका थिए।

हमासले बन्धकहरू छाड्दा इजरायलले प्यालेस्टिनी केदीहरूलाई जेलमुक्त गर्ने सहमति छ। साथै गजाबाट इजरायली सेना फिर्ता हुने र त्यहाँ कुनै पनि किसिमको आक्रमण इजरायलले नगर्ने सहमति छ। यो सहमतिपछि बिहीबार गजामा पनि त्यहाँका जनताहरूले उत्सव मनाएका थिए।

गजामा ४८ बन्धक हमासको कब्जामा रहेको यकिन भइसकेको छ। तीमध्ये २० जना जीवित रहेको भनेर शान्ति वार्ताबारे जानकारी राख्ने एक अधिकारीसँग कुराकानी गरेर अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बिहीबार नै‍ पुष्टि गरेको थियो।

ती जीवित रहेको आकलन गरिएको बन्धकहरू को-को हुन् भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले शुक्रबार सूची सार्वजनिक गरेको छ।

जीवित रहेका बन्धकहरूमा २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन्।

उनीहरू कुन देशका नागरिक हुन् भन्ने चाहिँ सिएनएनले खुलाएको छैन। बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ।

बुधबार मात्रै उनको परिवारले दुई वर्ष अगाडि रेकर्ड गरिएको विपिनको भिडिओ सार्वजनिक गरेका थिए।

उक्त भिडिओ इसराइलले विपिनका परिवारलाई उपलब्ध गराएको थियो। अक्टोबर ७, २०२३ मा हमासले बन्धक बनाएर गजा पुर्‍याएपछि नोभेम्बरमा उक्त भिडिओ खिचिएको थियो भनेर इसराइली अनलाइन पत्रिका द जेरूसलेम पोस्टले पुष्टि गरेको थियो।

बुधबार इजिप्टमा इसराइल र हमासबीच वार्ता हुँदै गर्दा युद्धविरामका लागि दबाब होस् भनेर पुरानो भिडिओ सार्वजनिक गरिएको विपिनकी बहिनी पुष्पाले जेरूसलेम पोस्टसँग बताएकी थिइन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए । राजदूत पण्डितले भने, ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन । उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं ।’

जीवित रहेको भनिएका बन्धकहरू-