
धनगढी – प्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका विपिन जोशीकी आमा र बहिनी घर फर्किएका छन् । विपिनको रिहाइका लागि पहल गरिदिन भन्दै अमेरिका पुगेका उनीहरु बिहीबार घर पुगेका हुन् ।
हमास समूहबाट बन्धक रहेका बेला विपिन जोशीको मृत्यु भएको सोमबार पुष्टि भएको थियो । विपिनको रिहाइका लागि आमा पदमा र बहिनी पुष्पा इजरायलकै पहलमा अमेरिका पुगेका थिए । उनीहरुले अमेरिकामा संयुक्त राष्ट्र संघका महासचिवदेखि अन्य पदाधिकारीहरुलाई भेटेका थिए ।
आमा र बहिनी अमेरिकामै रहेका बेला इजरायल र हमास समूहबीच युद्धबिराम भएर बन्दीहरु छाडने क्रम सुरु भएको थियो । ‘काकी र बहिनी घर पुगेपछि शव पठाउने प्रक्रिया अघि बढ्छ भन्ने खबर आएको छ,’ विपिनका दाई किशोरले भने, ‘शव कहिले पुग्छ भन्ने धेरै जानकारी भने आएको छैन ।’
आमा पद्मा र बहिनी पुष्पा अमेरिका जानुअघि इजरायल पनि गएका थिए । साउन अन्तिम साता उनीहरु इजरायल पुगेर विपिनको रिहाइका लागि आयोजना गरिएको ¥यालीमासमेत सहभागी भएका थिए । इजरायलमा पनि उनीहरुले राष्ट्रपतिदेखि प्रधानमन्त्री लगायतलाई भेटेका थिए ।
दुई वर्षअघि अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थी विपिन इजरायल पुगेका थिए । विद्यार्थीहरु इजरायल पुगेको एक महिना नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए ।
हमासको अपहरणमा परेको दुई वर्षपछि विपिनको मृत्यु भएको खबर आएको हो । हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेर डीएनए परीक्षणबाट पनि पुष्टि भइसकेको छ ।















