
अत्तरिया – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले सुशीला कार्की सरकार असंवैधानिक भएको बताएका छन् ।
एमाले गोदावरी नगर कमिटिले आज कैलालीको अत्तरियामा गरेको जनप्रदर्शन पश्चात आयोजित कोणसभामा बोल्दै जैशीले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतका न्यायधीश, प्रधानन्याधीशहरुले सरकारी नियुत्ती लिन नपाइने व्यवस्था रहेको हुँदा अहिलेको सरकार संविधान मिचेर बनाइएको उनले जिकिर गरे ।
“सर्वोच्च अदालतका न्यायधीश, प्रधानन्याधीशहरुले सरकारी नियुत्ती लिन पाइदैन भनेर लेख्या छ, संविधान मिचेर बनाइएकी सुशीला कार्कीको सरकार अवैध हो, यो असंवैधानिक हो, यस्लाई खारेज गर भन्छौँ हामीहरु जैशीले भने, संसद भवन जलाइएको छ, जनताका जितेका सांसदहरुलाई खारेज गरिएको छ, विघटन गरिएको छ, त्यो विघटन गर्ने क्रियाकलाप सुशीला कार्कीको दोस्रो असंवैधानिक कदम हो, त्यसलाई हामी खारेज गर्छौँ, हामी मान्दैनौ ।”
जैशीले पूर्व न्यायधीश गौरी बहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न बनेको आयोग पनि एमालेले नमान्ने बताएका छन् ।
पुष्पकमल दाहाल र जेनजीको इसारामा चल्ने कार्कीको आयोगलाई खारेज गर्नुपर्ने जैशीले बताए । “गौरी बहादुर कार्कीको आयोग, कार्यकर्ता, पुष्पकमल दाहाल र जेनजीको इसारामा चल्ने गौरी बहादुर कार्कीको असंवैधानिक आयोगलाई हामी मान्दैनौ । त्यसलाई खारेज गर भन्छौँ ।जैशीले सभामा भने ।”
जैशीले अहिलेको अवस्थामा चुनाव हुन नसक्ने जिकिर गरे । प्रहरीका बाह्र सय भन्दा हतियार लुटिएको, कारागार बाट कैदी भागेको र आपराधिक क्रियाकलाप भइरहेको अवस्थामा सुशीलाको काम नलाग्ने सरकारले चुनाव कसरी गर्छ? भन्दै उनले प्रश्न गरे ।
संसद पुर्नस्थापना गराउने,मुलुकलाई लयमा फर्काउने,खोसिएका हतियार फिर्ता गराउने, कैदीहरुलाई कारागार राख्ने र शान्तिपुर्ण ढङ्गले चुनाव हुने वातावरण भएमा मात्रै एमाले चुनावमा जाने जैशीको भनाई थियो ।
असंवैधानिक सरकारले चुनाव गराउन नमिल्ने भन्दै उनले संसद पुर्नस्थापना गरी जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहि गर्नुपर्ने बताए ।
एमालेलाई एक्ल्याउनका लागि पछिल्लो समय राजनितिक दलहरु फुटाइएको उनले बताए । जेनजीहरुले नबुझेरै प्रत्यक्ष कार्यकारी माग गरिरहेको जैशीको भनाई थियो ।
एमालेका पार्टी अध्यक्ष केपी ओलीलाई हटाउन खोज्ने, धम्क्याउने र मार्ने प्रयाससमेत भइरहेकोले त्यो चुनौती स्वीकार गर्न एमाले तयार रहेको जैशीले बताए ।
संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
सोही कार्यक्रम बमोजिम एमाले गोदावरीले पनि ¥यालीसहित अत्तरिया बजार परिक्रमा गरेर पूर्व रोडस्थित मदन आश्रित प्रतिक्षालयमा कोण सभा सम्पन्न गरेको थियो ।
कोण सभामा गोदावरी नगर इन्र्चाज खम्ब बुढा, केन्द्रिय सल्लाहकार परिषद् सदस्य हरिसिंह साउँद र जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले पनि सम्बोधन गरेका थिए ।















