नगरस्तरिय अपाङ्ग कार्य सञ्जालले विविध कार्यक्रम गरी मनायो ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी नगरस्तरिय अपाङ्ग कार्य सञ्जालले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।

सञ्जालले विविध कार्यक्रम गरी ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । दिवसको अवसरमा सुप समावेशी आधारभूत विद्यालयमा ह्विलचियर दौड, हाँजिरी जवाफ, व्यक्तित्व कला, अत्तरिया चोकमा दिप प्रज्वलन,अत्तरिया बसपार्कमा सरसफाई र प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष लक्ष्मण विकले बताए ।

nisarga

त्यस्तै आज विद्यालयको प्राङ्गणमा एक औपचारिक समारोहको आयोजना गरि सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुको उपस्थितिमा विभिन्न प्रतियोगितामा सफल भएकाहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न क्षेत्रका व्यत्तिहरुलाई सम्मानित गरिएको थियो ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।

यो वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ। हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ।

अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उनीहरूको आवश्यकता अनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता छ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ।