
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ मा रहेको समैजी सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मजगाउँमा रहेको संस्थाकै प्राङ्गणमा सोमबार भएको साधारण सभामा गोदावरी नगरपालिका वडा नम्बर- ८ का वडा सदस्य हरिराम चौधरीे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गोदावरी सब डिभिजन वन कार्यालय अत्तरियाका वन प्राविधिक डबल बहादुर रावत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै राउतले स्वस्थ मानव जीवनका लागि वन संरक्षण आवश्यक रहेको बताए । उनले वन स्थानीयकै सम्पत्ति भएकोले संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताए ।

त्यस्तै वडा सदस्य चौधरीले वन संरक्षणमा सामुदायिक वन समितिसंगै स्थानीयको दायित्व पनि रहने बताए । उपभोक्ताले सहयोग नगरे कार्यसमितिले मात्रै वन संरक्षण गर्न नसक्ने उनले बताए । कार्यक्रममा वनकी सचिव यमूना महतले गत आर्थिक वर्षको आय–व्यय,चालु आर्थिक वर्षको अनुमानित आय–व्यय पेश गरेकी थिइन् ।
साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो । समैजी सामुदायिक वनमा हाल ५२० जना उपभोत्ता रहेका छन् । साधारण सभाले आजै नयाँ कार्यसमिति चयन पनि गरेको छ ।















