
कैलाली – फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाअनुसार विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएका २२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, जिल्ला अदालत कञ्चनपुरको फैसलाअनुसार चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–१ पहरीया निवासी २३ वर्षीय दिपेन्द्र डगौरालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, जिल्ला अदालत अछामको विभिन्न मितिका फैसलाअनुसार कैद र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको छ।
चौरपाटी गाउँपालिका–५ निवासी तेजबहादुर रावललाई अदालतको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २० हजार जरिवाना तोकिएका साँफेबगर नगरपालिका–५ नवठाना निवासी रेमन्त बहादुर ठकुल्लालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ। प्रहरीले अदालतका फैसलाहरू कार्यान्वयन गर्न नियमित रूपमा अभियान सञ्चालन भइरहेको जनाएको छ।













