सडक नबनेसम्म मतदान नगर्ने दार्चुलाको नागुवासीको अडान, सरकारी टोली रित्तै फर्कियो

Image
maya metro

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–१ नागुका स्थानीयले सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान दोहोर्‍याएका छन्। विकासमा पछाडि परेको गुनासो गर्दै उनीहरूले आगामी फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।

नागु क्षेत्रका बासिन्दाले राजनीतिक दल तथा उम्मेदवारहरूले सडक लगायत आधारभूत पूर्वाधार निर्माणबारे लिखित प्रतिबद्धता नजनाएसम्म निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय कायम राखेको संघर्ष समितिका संयोजक करनसिंह डडालले जानकारी दिए।

nisarga

स्थानीयलाई मनाउन माघ २४ गते नागु पुगेको सरकारी टोली पनि निष्कर्षविहीन रूपमा फर्किएको छ। पहिलोपटक गाउँमै दुई दिनसम्म छलफल तथा सेवा प्रवाह गरिए पनि स्थानीयवासी आश्वस्त हुन सकेनन्। यसअघि माघ १ र १७ गते आयोजित आमसभामार्फत नागुवासीले चुनाव बहिष्कारको घोषणा गरेका थिए।

अनिल पौडेलको नेतृत्वमा पुगेको सरकारी टोलीले स्थानीयसँग छलफल गर्नुका साथै नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य तथा पशु उपचार सेवा र औषधि वितरण शिविर सञ्चालन गरेको थियो। तर पनि सडक निर्माणबारे ठोस आश्वासन नआएसम्म आफ्नो अडान नबदल्ने स्थानीयको भनाइ छ।