
धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । सो पालिकामा ३ वर्षको अवधिमा ५०८ जना बिरामी फेला परेका छन् ।
आर्थिक वर्ष २०८०।८१ मा ९८ महिला र ४५ जना पुरुष स्क्रब टाइफसका बिरामी रहेका थिए । आर्थिक बर्ष २०८१ ।८२ मा महिला १३६ पुरुष ६४ र आर्थिक बर्ष २०८२।८३ मा महिला ९७ र पुरुष ६८ जना रहेको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनबहादुर धामीले जानकारी दिए ।
उनले चालु आर्थिक बर्षको पुस महिनादेखि चैतको पहिलो हप्ता सम्म मात्रै ४६ जना बिरामी फेला परेको बताए । स्क्रब टाइफसका बिरामी गर्मी सिजनमा हुने गरेको बर्दगोरिया अस्पतालका व्यवस्थापक युजिन कुस्मीले जानकारी दिए ।
सिजनमा ४ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेको उनले बताए । ‘यो रोग एक प्रकारको मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइले सर्ने सरुवा रोग हो’ उनले भने ‘यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।’
त्यस्तै,जिल्लामा आर्थिक बर्ष २०८१।८२ मा ६३२ जना स्क्रब टाइफसका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिए । ‘यो रोग हरेक बर्ष बढिरहेको देखिन्छ’ उनले भने ‘यसबाट बच्नका लागि अग्लो ठाउँमा बस्ने,चउरमा बस्दा कपडा ओछ्यार बस्ने,घाँस काटन् जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनु पर्दछ ।’
चउरमा झाडी,घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्नुपर्ने उनको भनाइ छ ।
उनले यो रोगका लक्षण उच्च ज्वरो आउनु,टाउको धेरै दुख्नु पसिना धेरै आउनु, आँखा रातो हुनुका साथै झाडापखाला लाग्ने बताए ।
यो रोग लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानु पर्ने उनको भनाइ छ । रोगको समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास सम्बन्धी तथा मुटुमा समस्या भई दम बढ्ने,श्वास फेर्न गाह्रो भई बिरामी सिकस्त हुने र विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुने उनले बताए ।















