
धनगढी – धनगढी उपमहानगरपालिकाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउन औपचारिक प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर ८ स्थित सेतो पुल पूर्वतर्फ मेनरोड क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । सूचनामा सात दिनभित्र अतिक्रमित संरचना स्वयं हटाउन आग्रह गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनाअनुसार उक्त क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरिएको पाइएको उल्लेख छ ।
तोकिएको समयभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय तथा नगर प्रहरीलाई समेत आवश्यक समन्वय र सहयोगका लागि पत्राचार गरेको जनाएको छ ।














