
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-३ मा रहेको मालाखेती अस्पताल गोदावरी नगरपालिकाको मुख्य अस्पताल हो ।
गोदावरी नगरपालिका मातहत रहेको यो अस्पताल गोदावरी नगररपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमा नजिक भएकाले पनि यहाँ गोदावरीबाट मात्रै नभई कृष्णपुर नगरपालिकाबाट पनि बिरामीहरु सेवा लिन आउने गरेका छन ।

तर पछिल्लो केहि समय यता भने यो अस्पतालको सेवा लथालिङ्ग बनेको छ । अस्पताल प्रमुखको रुपमा रहेका मेसु (मेडिकल सुपरिटेन्डेन्ट)डाक्टर पदम प्रकाश शर्माको कार्यशैलीले बिरामी मात्रै होइन्, यहाँ कार्यरत डाक्टर, कर्मचारीसहित व्यवस्थापन समितिदेखि लिएर सूचकहरुमा असर परेको भन्दै नगरपालिकाको स्वास्थ्य शाखा समेत आजित छ ।
बिहिबार मात्रै पनि दिउँसो साढे दुई बजेको समयमा उनी आफ्नो कार्यकक्षमा मोबाइल खेलाउँदै बसिरहेका भेटिए । अस्पतालमा ६ महिनादेखि सञ्चालनमा आउन नसकेको फुल्ली अटो बायो केमेस्ट्री एनालाइजर मेसिनको बारेमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीसंग उनले आफूलाई सो बारे केहि जानकारी नभएको प्रतिक्रिया दिए ।
त्यतिमात्रै होइन आफूलाई अस्पतालका सबै सेवाबारे जानकारी नहुने भन्दै प्रशाशनमा कार्यरत अन्य कर्मचारीलाई सोध्न भने । आफूलाई एन्जाइटी भएको अड्डि कस्दै उनले अस्पतालको जुन विभागको तथ्यांक चाहिएको हो सोहि विभागलाई सम्पर्क गर्न भने । स्रोतका अनुसार उनी न बिरामी जाँच गर्छन्, न अस्पतालले आयोजना गरेका कुनै कार्यक्रमहरुमा नै सहभागि हुन्छन् ।
सिरफ अस्पताल आएर प्रशाशनस्थित कार्यकक्षमा आएर बस्ने र कार्यालय समय सकिएपछि त्यहि कुर्चिबाट उठेर घर जाने गर्दछन् । उनको जिम्मेवारी बिरामी जाँच गर्नुपनि भए पनि उनी बिरामी जाँच गर्ने कोठामै छिदैनन् । नगर अस्पतालकारुपमा रहेको मालाखेती अस्पतालका मेसुको गैरजिम्मेवारीपनले समग्र अस्पतालको सेवा नै लथालिङ्ग बनेको छ ।














