
काठमाडौं – देशका केही स्थानमा आज वर्षा हुनेछ भने केही स्थानमा गर्मी हुनेछ । हल्कादेखि केही भूभागमा मध्यमसम्मको वर्षा हुनेछ । केही भूभागमा भने उच्च गर्मीको सम्भावना छ ।
काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा हुन अझै केही समय कुर्नुपर्ने जलवायुविज्ञ धर्मराज उप्रेती बताउँछन् । कोसी, वाग्मती र मधेसका केही ठाउँमा अझै केही दिन अहिलेकै जस्तो मौसम रहने उनको भनाइ छ ।
“जेठ १० देखि १३ गतेसम्ममा सुदूरपश्चिमको तराईसम्म हल्का वर्षा हुनेछ । त्यसपछि एकदुई दिन बिराएर पुनः हल्का वर्षाको सम्भावना लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा देखिन्छ,” उप्रेती फेसबुकमा लेख्छन् ।
तर, कैलालीको दक्षिणी भाग तथा धनगढीमा राम्रो वर्षा हुन एक हप्ता कुर्नुपर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमका पाहाडी भूभागका केही स्थानमा भने आजदेखि नै हावाहुरी र केही ठाउँमा वर्षाको सम्भावना रहेको उनले प्रस्ट पारेका छन् ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।












