
अत्तरिया – भूमिको न्यायोचित वितरण गर्न माग गरिएको छ । शुक्रबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ २ नम्बर ब्युरोले सुकुम्बासीहरुको समस्या समाधान गर्न माग गर्दै आयोजना गरेको कोणसभामा भूमिको वितरण न्यायोचित ढंगले हुनुपर्ने आवज उठेको हो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ब्युरो इन्चार्ज लाल बहादुर जाग्रीले भूमिको न्यायोचित वितरण हुनुपर्ने बताए । उनले कसैको नाममा विघा जमिन हुँदा कसैसंग घरबास पनि नहुनु अन्याय भएको बताए ।

सम्बन्धित समाचार: सुकुम्बासीहरुको समस्या समाधान गर्न माग गर्दै अत्तरियामा विरोध
हावा, पानी र जमिनमा सरकारको अधिकार नरहने भन्दै उनले यो नागरिकको जन्मसिद्ध अधिकार भएको बताए ।
“भूमिको वितरण सरकारले न्यायोचित तरिकाले गर्नुपर्छ, उनले भने, कसैको पाँच सय छ सय विघा हुने, एक सय विघा हुने, कसैको एक कठ्ठा पनि नहुने के यो न्याय हो?” उनले प्रश्न गरे ।
जथाभावि जंगल फडानी गनुपर्छ भन्ने आफूहरुको आशय नभएको भन्दै उनले भूमिको समान वितरण हुनुपर्ने माग गरे।
हावा,पानी र जमिनमा सरकारले कर लाउन नपाइने भन्दै उनले यि कुरा माथि मानिसको नैर्सगिक अधिकार भएको बताए ।
विरोध कार्यक्रमलाई संघका ब्युरो इन्चार्ज जाग्री, उपाध्यक्ष टंक कोइराला, सदस्य राम बहादुर धामी लगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले अल्गोरिदम खरिद गरेर जितेको पार्टीले सुकुम्बासीहरुको उठिबास गरेको आरोप लगाए ।
सुकुम्बासी समस्या न्यायोचित ढंगले समाधान नभए आफूहरु संघर्षका कार्यक्रमहरु अघि सार्ने उनीहरुले बताएका छन् ।
सुकुम्बासीहरुको झुपडीमा डोजर चलाउने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।















