बाघ व्यवस्थापनमा चुनौती

Image
फाइल
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा पाटेबाघ बढेका छन् । आहारा प्रजातिको घनत्व नेपालमै सबैभन्दा बढी रहेको यो निकुञ्जमा उल्लेख्य रूपमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुगेको हो । पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणले यो निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा बाघ बढेको देखाएको छ । यसअघि २०२२ मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेका थिए ।

नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय सर्वेक्षण गर्ने गरिएको छ । निकुञ्ज कार्यालयले हरेक वर्ष आन्तरिक अनुगमन पनि गर्ने गरेको छ । आन्तरिक अनुगमनमा गत वर्ष शुक्लाफाँटामा ४३ वटा र त्योभन्दा अघिल्लो वर्ष ४४ वटा बाघ अभिलेख भएका थिए । यहाँँको घाँसे मैदानका कारण बाघको आहारा प्रजाति राम्रो उपस्थिति र पानीको सुविधा, चोरीसिकार नियन्त्रण जस्ता कारणले बाघ बढेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले भने, “यहाँ बाघका लागि आहारा प्रजातिको उपलब्धता राम्रै भएकाले निकुञ्जले ५० वटा बाघ धान्न सक्ने देखिन्छ ।”

nisarga

उनका अनुसार नेपालमै सबैभन्दा ठुलो घाँसे मैदान रहेको यो निकुञ्जमा बाघको आहारा प्रजाति प्रतिवर्गकिलोमिटर १४६ वटा पाइने गरेका छन् । नेपालको अन्य निकुञ्जमा आहारा प्रजातिको घनत्व प्रतिवर्गकिलोमिटर सयभन्दा कम रहेको देखिन्छ ।

उनी भन्छन्, “निकुञ्जमा प्रशस्त आहारा उपलब्ध हुने भएपछि बाघ निकुञ्जबाट अन्यत्र जाने सम्भावना कम हुन्छ तर पनि निकुञ्ज कार्यालयले अब बाघको सङ्ख्या वृद्धि गर्नतर्फभन्दा पनि त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । निकुञ्जमा चितुवा पनि छन् । बाघको सङ्ख्या बढेमा चितुवा बाहिर निस्कने खतरा रहन्छ ।”

निकुञ्ज कार्यालयका अनुसार शुक्लाफाँटामा रहेको बाघ निकुञ्जबाहिर निस्केर कुनै मानवीय घटना भएको अभिलेख अहिलेसम्म छैन तर चितुवा निस्कने सम्भावना बढेको छ ।

बाघ व्यवस्थापनका लागि फेन्सिङ गर्ने, निगरानी बढाउने, निकुञ्जनजिक वा मध्यवर्ती क्षेत्रका समुदायमा सचेतनाको कार्यक्रम गर्ने, सुधारिएको खोर वितरणलगायतको कार्यक्रम सञ्चालन गरिने वाग्लेले बताए । पर्यावरणको महत्वपूर्ण र दुर्लभ वन्यजन्तु बाघले बढी जसो खुर भएका वन्यजन्तुलाई आफ्नो आहारा बनाउने गरेको बताइन्छ । शुक्लाफाँटामा बाह्रसिङ्गा, हरिण, जरायो, बँदेललगायतका आहारा प्रजातिको उपस्थिति रहेको छ ।

शून्य चोरीसिकार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्राकृतिक मृत्युबाहेक मानवीय कारण वा सिकारीले गर्दा बाघ मरेको/मारेको घटना नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

बाघ हिंस्रक वन्यजन्तु भएका कारण भाले भालेबिच लडाइँ भएर वा बुढो भएर बढी मर्ने गरेको निकुञ्जका सूचना अधिकारी वाग्लेको भनाइ छ । उनी भन्छन्, “बाघले आफ्नो क्षेत्र निर्धारण गरेका हुन्छन्, त्यो क्षेत्रभित्र अर्को बाघ गएमा लडाइँ हुने गर्दछ । त्यसरी लडेर कैयौँ भाले बाघको मृत्यु हुने गर्दछ ।”

पछिल्लो दुई वर्षको अवधिमा निकुञ्जमा तीन वटा बाघको प्राकृतिक मृत्यु भएको पाइएको छ । मरेका तिनै बाघ भाले रहेको वाग्लेले बताए ।