भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल आज सुदूरपश्चिम आउँदै, यस्तो छ कार्यतालिका

Image
maya metro

अत्तरिया – भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आज सुदूरपश्चिम आउँदै छन् । सुदूरपश्चिमका विभिन्न आयोजनाहरुको अनुगमन गर्न मन्त्री लम्साल सुदूरपश्चिम आउन लागेका हुन् । आज शुक्रबार बिहान ७ः५० मा नियमित उमाडमार्फत लम्साल धनगढी विमानस्थल आइपुग्ने रास्वपाका केन्द्रिय पूर्वाधार अनुगमन समितिका सदस्य पुष्पराज सुवेदीले जानकारी दिएका छन् । त्यसलगत्तै उनी पहाडी जिल्लाका लागि जाने बताइएको छ ।

पाँच दिनका लागि सुदूरपश्चिम आउन लागेका मन्त्री लम्सालले सुदूरपश्चिमका विभिन्न राष्ट्रिय गौरव तथा रणनीतिक सडक आयोजनाको स्थलगत अनुगमन, प्रगति समीक्षा तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणको पहिलो दिन मन्त्री लम्साल अत्तरियामा छोटो भेटघाटपछि पहाडी जिल्लाका लागि प्रस्थान कार्यक्रम छ । पहिलो दिन महाकाली राजमार्ग, खुटिया–बीपी नगर–डोटी सडक तथा मध्यपहाडी लोकमार्ग अन्तर्गतका आयोजनाको अनुगमन गरि दार्चुला पुग्ने कार्यक्रम रहेको छ ।

nisarga

दोस्रो दिन मन्त्री लम्सालले गोकुलेश्वर, खलंगा (दार्चुला) र गोठलापानी (बैतडी) क्षेत्रमा पुगेर महाकाली राजमार्ग, महाकाली करिडोर तथा मध्यपहाडी लोकमार्गका आयोजनाको निरीक्षण गर्नेछन् । तेस्रो दिन बझाङको चैनपुर पुगेर महाकाली राजमार्ग, मध्यपहाडी लोकमार्ग, खोड्पे–चैनपुर राजमार्ग तथा सेती राजमार्ग (उत्तरी खण्ड) को स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चौथो दिन चैनपुरबाट डडेल्धुरा, दिपायल हुँदै अछाम पुग्ने मन्त्री लम्सालले सेती राजमार्ग (उत्तरी खण्ड), खोड्पे–चैनपुर राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अन्तर्गतका आयोजनाको अनुगमन तथा प्रगती समीक्षा गर्नेछन् । अन्तिम दिन सेती राजमार्ग (दक्षिण खण्ड), साँफेबगर–मार्तडी सडक, मध्यपहाडी लोकमार्गको अनुगमन गरी भदौ २ गते धनगढी पुग्ने र ३ गते बिहान काठमाडौं फर्किने कार्यतालिका रहेको सुवेदीले बताएका छन् । मन्त्री लम्सालको भ्रमणलाई सुदूरपश्चिमका लामो समयदेखि निर्माणाधीन सडक तथा पुल आयोजनाको प्रगति मूल्याङ्कन, समस्या पहिचान र निर्माण कार्यलाई गति दिने अपेक्षा गरिएको छ । उनलाई स्वागत गर्न रास्वपा सर्मथकहरुले धनगढी विमानस्गल जाने तयारी गरेका छन् ।