
धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रमुख प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन् । तोकिएको समयभित्रै मुख्यमन्त्रीमा एमालेको समर्थनसहित दाबी पेस गर्ने तयारी खगराज भट्टले गरेका छन् ।
भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । नेकपाका एक सांसदकाअनुसार बिहान ११ बजे मुख्यमन्त्री नियुक्त भएपछि आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।














