खुटिया–दिपायल सडकखण्ड : तीन वर्षमा निर्माण पूरा हुने

Image
maya metro

डोटी – धनगढी–खुटिया–दिपायल–चैनपुर–उरईभन्ज्याङ सडक आयोजना अन्तर्गत कैलालीको खुटियादेखि डोटीको दिपायलसम्मको खुटिया–दिपायल सडकखण्ड आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरईभन्ज्याङ सडक आयोजना प्रमुख शशाङ्क मिश्रले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा सो सडकखण्डमा ५० करोड रुपियाँ विनियोजन भएपछि निर्माणले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

आयोजना प्रमुख मिश्रले भने, “चालु आवमा ५५ करोड रुपियाँको ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । थप डेढ अर्ब रुपियाँको बजेट एप्रोचका लागि हामी फाइल पेस गर्ने तयारीमा छौँ । त्यो फाइल स्वीकृत भयो भने तीन वर्षभित्रै दिपायलसम्मको काम हुन्छ ।” खुटिया–दिपायल सडकखण्डमा पर्ने १७ वटा पुलमध्ये चार वटा पुलको निर्माण पूरा भइसकेको छ । तीन वटा पुलको काम जारी रहेको आयोजना प्रमुख मिश्रले बताएकाछन् । कैलालीको धनगढीदेखि दिपायलसम्मको ८६ किलोमिटरमध्ये २० किलोमिटर सडकको कालोपत्रे पूरा भएको छ ।

nisarga

आव २०६५/६६ सालमा सडक विभागले सुरु भएको यो सडकलाई सुरुवातमा डिभिजन सडक कार्यालय कुलपाते डोटी अन्तर्गत राखिएको थियो । आव २०७३/७४ देखि धनगढी–खुटिया–दिपायल–चैनपुर–उरईभन्ज्याङ सडक आयोजनाको छुट्टै कार्यालय स्थापना गरेर काम भइरहेको छ । पाँच वर्षमा दिपायलसम्म यातायात सञ्चालन गर्ने लक्ष्यसहित सुरु भएको सो सडक निर्माण सुरु भएको १८ वर्ष पूरा भइसक्दा पनि राम्रोसँग ट्र्याकसमेत खुल्न सकेको छैन । सुरुमा खुटिया–बिपीनगर–दिपायल नामकरण गरिएको सो सडकपछि बझाङको सदरमुकाम चैनपुरसम्म जोड्ने भनियो । हाल उत्तरदक्षिण भारत र चीन अन्तर्राष्ट्रिय नाका जोड्ने गरेर सो सडकको नाम ‘धनगढी–खुटिया–दिपायल–चैनपुर–उरईभन्ज्याङ’ राखिएको छ ।

सो सडकखण्ड निर्वाचनका समयमा दलको मुख्य चुनावी एजेन्डा बन्ने गरेको छ । गत आवमा विनियोजन भएको १५ करोड रुपियाँसमेत काम हुन सकेर फ्रिज गएको थियो । हाल धनगढीदेखि दिपायलसम्मको यात्राका लागि डडेलधुरा हुँदै १९० किलोमिटरको दुरी यात्रा गर्नु पर्छ । धनगढी–खुटिया–दिपायल सडक सञ्चालनमा आएमा धनगढी दिपायलको दुरी १०५ किलोमिटर हुने छ ।