
धनगढी – गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत् अवस्थामा फर्किसकेका छन् । मर्मतसम्भार तथा पुनर्निर्माणपछि सरकारी कार्यालयले पूर्ववत् रूपमा नै सेवा प्रवाह थालेका हुन् । यद्यपि भौतिक रूपमा भने धेरै जसो सरकारी कार्यालयको पुनर्निर्माण अझै बाँकी छ ।
आन्दोलनका क्रममा कैलालीमा १३७ वटा भवनमा आगजनी र तोडफोड गरिएको थियो । यसमध्ये सरकारी कार्यालयका भवन १०३, राजनीतिक दलका पार्टी कार्यालय भवन १७, सर्वसाधारणका निजी भवन १२ र प्रहरी कार्यालयका पाँच वटा रहेका थिए ।

आगजनी र तोडफोड भएका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने ठहरसहित रातो स्टिकर टाँस गरिएको थियो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले मर्मतसम्भार र केही कार्यालयले पुनर्निर्माणपछि सबै सरकारी कार्यालयले पूर्ण रूपमा सेवा दिइरहेको बताएका छन् ।















