धौलीगङ्गा बाँधको ढोका खोलिने, सतर्कता अपनाउन आग्रह

Image
maya metro

दार्चुला – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धारचुला तहसिल अन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बाँधका ढोका खोलिने भएको छ ।

महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म धौलीगङ्गा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने जानकारी गराएको हो ।

nisarga

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन तपोवन भारतबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सूचना प्राप्त भएको आधारमा सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए ।

४८ घण्टाको अवधिसम्म बाँधको ढोका खोलिने र महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । उहाँका अनुसार एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले नेपाली प्रशासनलाई बाँध खोल्नेबारे पत्राचार गरेको हो ।

भारतीय पक्षले वर्षातको समयमा सरसफाइ गर्ने भन्दै बेला–बेला बाँधका ढोका खोल्दै आएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

२८० मेगावाट विद्युत क्षमताको धौलीगङ्गा बाँध छिरकिल्लामा पर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको सहायक पजिअ धामीले बताए ।

दार्चुलामा व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका –३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचित गराएको छ ।