
बाजुरा – बाजुरामा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।
हिमाली, स्वामिकार्तिक, जगनाथ र बूढीनन्दा लगायतका किसानको भदौ दोस्रो सातादेखि नै बारीमा स्याउ पाक्न सुरु हुन्छ । तर नजिकमा बजार नभएपछि त्यो स्याउ बिक्रीका लागि देशका अन्य सहरमा लिनु परेको स्याउ किसान धनबहादुर रावलले बताए । ती स्याउ किसानका लागि गाउँ नजिक बजार छैन । टाढा लैजान बाटो बन्द छ, अहिलेसम्म सडक सञ्चालन भएको छैन । भरिया द्वारा ढुवानी गरी बिक्री गर्न लैजाने हो भने भने मूल्य बढी लिनुपर्ने हुन्छ । मार्तडी कोल्टी सडकको बिचबिचमा गएको पहिरोले लामो समयसम्म बाटो बन्द भएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्याउ किसानलाई स्याउ बारीमै कुहिने चिन्ताले समस्या बढाएको छ ।

बाजुराको दुरदराजमा अर्ग्यानिक स्याउ पाकेपनि समयमै बजारसम्म पुर्याउन नसक्दा केही स्याउ बारीमै कुहिएर जाने गरेपछि बर्सेनि निकै घाटा व्यहोर्नुपरेको स्याउ किसान रावलले बताए । बाजुराका स्याउ किसानको बारीदेखि बजारसम्म ढुवानी गर्नका लागि कार्टुन सहित अनुदानको समेत व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । उनले भने, “अहिले सडक खुलेको छैन । केही दिनपछि सडक खुल्छ त्यसपछि बाजुराको स्याउ बिक्रीका देशका विभिन्न सहरमा पुर्याउने तयारी भइरहेको छ ।”
बाजुरामा १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेट्रिक टन उत्पादन हुन्छ । यो वर्षमा पनि त्यसको दुई प्रतिशत कमीले स्याउ उत्पादन हुने आङ्कलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताए ।
पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र स्याउ उत्पादन हुने स्याउ अहिले हिमालीमा गौमुल खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ । बाजुरामा स्थानीय, फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताए । यता मार्तडी कोल्टी सडक सुचारु गर्ने गरी एक हप्ता पहिले नै काम सुरु गरेको हो ।
पानी परेको कारण बाटो मर्मत गर्न समस्या भएको छ । पानी रोकिने बित्तिकै एक दुई दिनमै सो सडक सुचारु हुने पूर्वाधार विकास अछामका प्रमुख रुद्ध बोगटीले बताए ।















