
अत्तरिया – कैलालीको अत्तरियामा खानेपानीको संकट चुलिदै गएको छ । केहि वर्षदेखि अत्तरिया क्षेत्रमा खानेपानीको संकट चुलिदै गएको हो । जडान गरिएका डिप बोरिङहरु सुक्दै गएपछि तोकिएको समयमा पनि खानेपानी वितरण गर्न कठिनाई भइरहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बताएको छ ।
विभिन्न स्थानमा जडान गरिएका ९ वटा डिप बोरिङ मध्य ५ वटा सुकेपछि खानेपानी वितरण गर्न कठिनाई भइरहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक कुलानन्द पनेरुले बताएका छन् । उनका अनुसार पहिले २४ सै घण्टा वितरण गर्दै आएको भएपनि बोरिङहरु सुक्दै गएपछि विगत ५/६ वर्ष यता अभाव हुँदै आएको छ ।

“जडान गरिएका ९वटा बोरिङ मध्य अचेल ४ वटामा मात्रै पानी आइरहेको छ, ५ वटा सुकिसकेका छन्, पनेरुले भने बोरिङहरु सुक्नेक्रम गर्मीयाममा बढी हुने गरेको छ ।” पानी रिर्चाज नहुने र तान्ने काममात्रै भइरहेको हुँदा डिप बोरिङहरु सुक्नेक्रम बढेको उनको भनाई छ ।
हाटखोलीमा मुहानको खोजी
बोरिङहरु सुक्नेक्रम बढेपछि अत्तरिया खानेपानीले प्राकृतिक मुहानहरुको खोजी गर्न थालेको छ । गोदावरी- ४ स्थित हाटखोलीमा प्राकृतिक मुहानको प्रारम्भिक अध्ययन अवलोकन भइरहको प्रबन्धक पनेरुले बताएका छन् । प्रारम्भिक अध्ययनअनुसार प्रतिसेकेन्ड २०० लिटर पानीको बहाव देखिएको पनेरुले बताए ।
“अहिले पहिलो चरणको अध्ययन, अवलोकनको काम भइरहेको छ, उनले भने, त्यसअनुसार प्रतिसेकेन्ड २०० लिटर पानीको बहाव देखिएको छ । ४० प्रतिशत छोडेर ल्याउनुपर्ने मापदण्ड अनुसार १४० लिटर पानी प्रतिसेकेन्ड अत्तरियामा झार्न सकिने देखिन्छ , अध्ययनकोक्रममै छौँ, धेरै कुरा पछि थाहा हुन्छ ।”
केहि दिनमा डिपीआर तयार गरि खानेपानी मन्त्रालयमा पेश गरिने र विज्ञहरुको राय सुझाव बमोजिम अघि बढ्ने तयारी रहेको उनले बताए । उक्त अध्ययन सफल भएमा दिर्घकालीनरुपमा योजना तयार हुने खानेपानीका सहायक प्रबन्धक यादव फुलाराले बताए ।
“यो अध्ययन सफल भएमा मुहानमा रिर्जभ ट्याङकी निर्माण गरि हाटखोलीदेखि अत्तरिया सम्म करिब २५ किलोमिटरको दुरीमा पाइपलाइन बिस्तार हुनेछ पानी वितरण गरिने वडा पनि बिस्तार गर्न सकिनेछ ।” उनले भने ।
यस पटक गरिने डिपीआरका लागि आवश्यक पर्ने रकम नगर विकास कोषले ८० प्रतिशत र गोदावरी नगरपालिकाले २० प्रतिशत सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि फुलाराले बताए । गत वर्ष पनि अत्तरिया खानेपानीले गोदावरीको दुगडे क्षेत्रमा प्रारम्भिक अध्ययन गरेको थियो तर दोस्रो पटकको अध्ययन गर्दा पानीको मात्रा घटेको भेटिएपछि स्थगित गरिएको थियो ।
अहिले अत्तरिया खानेपानीले वडा नम्बर १ का अधिकांश घरदुरी, २ का सम्पूर्ण घरधुरी र ४ का आशिंक घरधुरी गरि ५ हजार ४ सय घरधुरीमा पानी वितरण गर्दै आइरहेको छ । यो योजना लागू भएमा संघिय खानेपानी अन्तरगत ८५ प्रतिशत, नगर विकास कोषमार्फत १० प्रतिशत ऋण र स्थानीय निकाय तथा उपभोक्तामार्फत ५ प्रतिशत लगानी गरिनेछ ।
अत्तरिया खानेपानी तथा सरसरफाई उपभोक्त संस्थाको अवधारणा २०५८ सालमा तयार भइ २०६० मा संस्था दर्ता भएको थियो भने २०६२ देखि निर्माणको काम सुरु गरिएको थियो । पहिलो चरण अन्तरगत ३ करोड ७२ लाखमा निर्माणको काम भएको थियो ।
त्यसैगरि दोस्रो चरणमा ५ करोड ५४ लाख तथा सह लगानी करिब १५ करोड गरि निर्माण सम्पन्न भएको थियो । तत्कालीन समयमा २ हजार तीन सय घरधुरी आँकलन गरि निर्माण गरिएको उक्त खानेपानी अहिले ५ हजार चार सय घरधुरीमा वितरण भइरहेको छ ।













