देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका रावलको निधन

Image
maya metro

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका डडेल्धुराका कर्णसिंह रावलको निधन भएको छ । ०५६ सालदेखि लगातार देउवाविरुद्ध चुनावी प्रतिष्पर्धा गर्दै आएका रावलको शुक्रबार बिहान डडेल्धुराको अमरगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो ।

नवदुर्गा गाउँपालिकामा पर्ने मम्या गाउँका रावल सदरमुकाम अमरगढी नगरपालिकामा बस्दै आएका थिए । ‘मम्याल बाजे’ का नामले परिचित उनी ०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

nisarga

उनी ०४८ सालको संसदीय निर्वाचनमा देउवालाई जिताउन चुनावी अभियानमा सक्रिय थिए । तर, ०५४ सालमा तीन दशक लामो सरकारी सेवाबाट अवकाश पाएपछि रावलले ०५६ सालको निर्वाचनमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मालपोत कार्यालयमा रहँदा सरुवासम्बन्धी विवादले उनी पूर्वप्रधानमन्त्री देउवासँग खिन्न भएका थिए । त्यसपछि उनले जीवनभर देउवासँग प्रतिस्पर्धा गर्ने अठोट लिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा उनले ४४२ मत पाएका थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा रावलको पक्षमा २८० मत खसेको थियो ।