सुनचाँदी व्यवसायी भन्छन् : हरेक संस्कारसंग जोडिएको सुन कसरी विलासी भयो ?

Image
maya metro

अत्तरिया – कैलाली र कञ्चनपुरका सुनचाँदी व्यवसायीहरुले कैलालीको अत्तरियामा प्रदर्शन गरेका छन् । अत्तरियामा परेको वर्षाको समेत वेवास्ता गर्दै उनीहरुले अत्तरिया बजारमा र्याली निकालेका थिए भने अत्तरिया चोकमा पुगेर कोण सभा गरेका थिए । कोण सभामा बोल्ने अधिकांशले आफूहरुका जायज माग पुरा गर्न सरकारले लापरबाही गरिरहेको बताए ।

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै एक महिनादेखि आन्दोलित भएका उनीहरुले माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । देशैभरका सुनचाँदी व्यवसायीहरुले एक महिनादेखि नै व्यवसाय समेत ठप्प पारेका छन् । हिन्दुहरुको बाहुल्यता भएको नेपाल जस्तो देशमा सुन विलासी नभइ आवश्यक वस्तु भएको उनीहरुको भनाई छ ।

nisarga

र्याली पछि आयोजित कोण सभालाई सम्बोधन गद सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामीछानेले नेपालमा सुन विलासी नभइ आवश्यक वस्तु भएको बताए । हिन्दु धर्ममा सुनलाई विलासी नभइ अति आवश्यक वस्तुका रुपमा लिने गरिएको उनले बताए । “मान्छे मर्दा सुन घाँटीमा हाल्ने गरिन्छ, विवाह वर्तबन्ध, मृत्यु संस्कारजस्ता हरेक कार्यहरुमा सुनलाई आवश्यक वस्तु मानिएको छ, उनले भने, शुभ कार्यहरुमा सुन दान गरे पून्य प्राप्त हुन्छ भनिएको छ, हरेक संस्कारसंग जोडिएको सुन कसरी विलासी भयो? के अब मर्दा पनि कर तिरेर मर्नु?”

लामीछानेले जायज कर तिर्न हरेक प्रक्रिया पुरा गर्न सुनचाँदी व्यवसायी तयार रहेको बताए । त्यस्तै कोण सभालाई सम्बोधन गर्दै सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिमका प्रवक्ता रुपक सुनारले बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने आफूहरुको माग रहेको बताए । सरकारले हाल लागू गरेको करको व्यवस्थाले उपभोक्तालाई मात्रै नभई व्यवसायी र कालिगडको जीवनमा समेत असर पर्न जाने उनले बताए ।

देशको अर्थतन्त्रसंग जोडिएको, स्वरोजगारसंग जोडिएको पेशा व्यवसायीका माग सुनुवाइ गर्न सरकारले लापरवाही गरिरहेको भन्दै उनले आफूहरुका माग जायज रहेको र सुनुवाइ नभए कडा आन्दोलन गर्ने बताए । हजारौं व्यवसायी, लाखौं कालिगड र तिनका परिवारको खाने बाटो सरकारले संकटमा पार्न खोजेको उनले बताए । संघिय लोकतान्त्रिक गणतन्त्रको दोस्रो अभयास सुरु भएको अवस्थामा समेत आफूहरुले आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

सुनचाँदी व्यवसायीहरुलाई सरकारले हेयका दृष्टिले हेर्ने गरेको सुनारले गुनासो गरे । वडा कार्यालयदेखि केन्द्रिय तहसम्म कर तिर्दा समेत विभिन्न बाहनामा सरकारले दुख दिइरहेको उनले बताए । वर्षेनी राज्यलाई अरबौं कर तिरेर, लाखौँ युवाहरुलाई रोजगारी प्रदान गरिरहेका सुनचाँदी व्यवसायीमाथि सरकारले देखाएको यो व्यवहार २५ हजार व्यवसायी, दुई लाख कालीगड र त्यसमा आश्रीत ५ लाख परिवारको अपमान भएको सुनारले बताएका छन् ।

त्यस्तै सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य गणेश सुनारले बताए । यो आन्दोलन सुनचाँदी व्यवसायीको मात्रै नभएर उपभोक्ता सरोकार मञ्च, उद्योग वाणिज्य संघले समेत यस्मा एक्यवद्धता जनाएको उनको भनाई थियो । त्यस्तै अर्का केन्द्रिय सदस्य जगत सुनारले आवश्यक कर तिर्न आफूहरु प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।

सुन नगद सरह भएकोले अनावश्यक कर लगाउन नहुने सुनारले बताए । त्यस्तै कैलाली सुनचाँदी आभुषण व्यवसायी संघका अध्यक्ष मनोज खनालले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।

उनीहरुले सञ्चारमाध्यमहरुले आफूहरुको आन्दोलनलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण नगरेको समेत गुनासो गरेका छन् । उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौं, उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर, उपभोक्ता अधिकार सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । सुनचाँदीमा लगाइएको अनावश्यक विलासिता करको व्यवस्था हटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरूले देशैभर प्रदर्शन गरिरहेका छन् ।