
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि सुरु गरिएको घरधुरी अभियानको समापन गरिएको छ । नगर प्रमुख हेमराज ओझाको अगुवाईमा २०८१ फागुनदेखि नगरपालिकाको स्वास्थ्य शाखाले उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप लगायतका जाँचहरु गरि स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव दिने गरेका थिए । असार ३० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए ।

उनका अनुसार १९ हजार ६५४ जना महिला र १२ हजार ९०६ जना पुरुष गरि जम्मा मबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएका हुन् । कृष्णपुर नगरपालिका वडा नम्बर- ५ का स्थानीय ६९ वर्षीय नन्दराज भट्टले कृष्णपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आएर आफ्नो सुगर तथा रक्तचाप जाँच गरेको बताए ।
जाँच गर्दा आफूलाई सुगर रहेको स्वास्थ्यकर्मीहरुले बताएपछि औषधी खाइरहेको बताए । “मलाई सुगरको समस्या पहिले अलिअलि थियो। औषधी खाएको थिए, उनले भने, अब त सन्चो भयो होला भनेर छोडेको उहाँहरुले जाँच गर्दा त दोब्बर पो भएको रहेछ,अब फेरि औषधी खाँदै छु ।” त्यस्तै वडा नम्बर- ५ कै बासिन्दा हिरादेवी लुहारले यो कार्यक्रमले वृद्ध तथा अशत्तहरुलाई अझै सहज भएको बताइन् ।

उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताइन् । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले नागरिकसंग मेयर कार्यक्रमले न्यून आय स्तर भएका नागरिकहरुलाई सहज भएको बताए । स्वास्थ्यकर्मीको टोली घरमै पुगेपछि नसर्ने रोगहरु पालेर बसेका व्यक्तिहरु स्वास्थ्य संस्थासम्म पुगेको बताए ।
स्वास्थ्य संस्थामा चेक जाँच र औषधीहरु निःशुल्क पाइन्छ भन्ने जानकारी नहुँदा स्वास्थ्य संस्थासम्म नआउने बिरामीहरु पनि स्वास्थ्य संस्थासम्म पुगेर जाँच गर्ने गरेको उनले बताए । स्वास्थ्यमा लगानी गरेमात्रै समृद्ध नगरको परिकल्पना गर्न सकिने ओझाको भनाई छ । नसर्ने रोगको औषधी खाँदा संधै बानी पर्छ भन्दै औषधी छोडेर स्वास्थ्य समस्या बल्झाइरहेका व्यत्तिहरुले पनि स्वास्थ्यकर्मीको सम्झाई बुझाईपछि पुनःह औषधी सुचारु गरेको ओझाले बताए ।
“प्रेसर, सुगर लगायतका नसर्ने रोगहरुको समस्या भएका कतिपय व्यक्तिहरु हरुले औषधी सुरु गरे त आजीवन खानुपर्छ, बानी पर्छ भनेर समस्या झन् बल्झाइरहेको पाइयो, उहाँहरुलाई सम्झाइबुझाइ गरेर रोग अनुसारको औषधी सुरु गरिएको छ । ओझाले भने ।” उनले प्रतिकुल मौसमको समेत वेवास्ता गरि नागरिकको घरदैलोमा गएर स्वास्थ्य सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।

यो कार्यक्रम प्रभावकारी देखिएको आफूलाई महसुस भएको भन्दै उनले आगामी वर्षमा समेत निरन्तरता दिइने बताए । समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख द्रोपती रानाले आफूहरुले शिक्षा र स्वास्थ्य लाई केन्द्रमा राखेर काम गरिरहेको बताइन् । उनले समाज परिवर्तनका लागि नागरिकको स्वास्थ्य स्वस्थ हुनु जरुरी रहेको बताइन् । कृष्णपुरका सबै स्वास्थ्य संस्थाहरुमा उपलब्ध सबै सेवाहरु पूर्णरुपमा निःशुल्क रहेकोले त्यसको लाभ लिन पनि उनले नगरबासीलाई आग्रह गरिन् ।
त्यस्तै समापन कायक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेले नागरिक संग मेयर कायक्रमले नसर्ने रोगको पहिचान मात्रै नगरेर खोप लगाउन छुटेका बालबालिका, चेतना अभावले आइरन चक्की नखाने गर्भवतीहरुलाई समेत समेटेको बताए । उनले यो कार्यक्रम ग्रामिण भेगहरुमा बढी प्रभावकारी भएको बताए ।

स्वास्थ्य शाखा प्रमुख विष्टले यो अभियानले कृष्णपुर बासीका वास्तविक स्वास्थ्य समस्याबारे आफूहरुलाई जानकारी भएको बताए । उक्त अभियानको क्रममा एकजना कुष्ठरोगी, दुई जना क्षयरोग संक्रमित पनि पत्ता लागेको उनले बताए ।
सो क्रममा नियमित खोप कार्यक्रममा लगाउन छुटेको जानकारी पाएपछि ३३ जनालाई नियमित खोप लगाइएको उनले बताए । नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि सुरु गरिएको अभियानमा शाखाले ८ जना स्वास्थ्यकर्मी खटाएको थियो ।















